२०८३ साउन १० आइतबार

म्याग्दीमा विद्युत् सुधारका लागि १० करोडको योजना, ट्रिपिङ हटाउन संरचना सुदृढ गरिँदै

ई आर्थिक    सोमबार, भाद्र ९ २०८२
3.7K
Shares
म्याग्दीमा विद्युत् सुधारका लागि १० करोडको योजना, ट्रिपिङ हटाउन संरचना सुदृढ गरिँदै

ई-आर्थिक, म्याग्दी । म्याग्दी जिल्लामा विद्युत् आपूर्ति र वितरण प्रणाली सुधार गर्न नेपाल विद्युत् प्राधिकरणले रु १० करोडको बजेट विनियोजन गरेको छ। उक्त बजेटमार्फत चालु आर्थिक वर्षभित्रै विद्युत् वितरण सुदृढीकरण योजना कार्यान्वयनमा ल्याइने भएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले योजना अन्तर्गत जोखिमयुक्त स्थानका नाङ्गो तार हटाएर एबिसी केबुल जडान, ट्रान्सफर्मरको क्षमता वृद्धि, फिडर थप, तथा ट्रिपिङ नियन्त्रण उपकरण जडान गरिने जानकारी दिनुभयो। उहाँका अनुसार यसले वितरण प्रणालीलाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय बनाउनेछ।

म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीका अनुसार, वर्तमानमा मिलनचोक, रातोढुङ्गा र घराप सबस्टेसनहरूबाट आपूर्ति हुने केन्द्रीय प्रसारण लाइनमा कुनै एक स्थानमा समस्या आउँदा सबै क्षेत्र अन्धकारमा पर्ने ट्रिपिङ समस्या रहेको छ। नयाँ योजनाले यस समस्याको दीर्घकालीन समाधान दिने अपेक्षा गरिएको छ।

राज्यमन्त्री गर्बुजाका अनुसार म्याग्दीमा पहिलोपटक पर्याप्त बजेट विनियोजनसहित वितरण प्रणाली सुधारको योजना ल्याइएको हो। साथै, राहुघाट र म्याग्दी नदी बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुने ऊर्जा केन्द्रीय प्रणालीमा जोड्नका लागि निर्माणाधीन १३२ केभी डाँडाखेत–राहुघाट प्रसारण लाइनको कार्य तीव्र पारिएको जानकारी पनि दिनुभयो।

यस्तै, ‘उज्यालो म्याग्दी कार्यक्रम’ अन्तर्गत १४ स्थानका २,१८३ घरधुरीमा विद्युत् सेवा विस्तार गर्न २०८०/८१ देखि रु २२ करोडको योजना लागू गरिएको छ। आर्थिक वर्ष २०८०/८१ मा १,४३८ घर र २०८१/८२ मा ८७४ घरमा विद्युत् पहुँच विस्तार गरिएको छ।

हाल म्याग्दी वितरण केन्द्रमा २३,८६९ सेवाग्राही रहेका छन्। साथै, पर्वतको मल्लाज र बारीबेनी क्षेत्रमा समेत मिलनचोक सबस्टेसनमार्फत सेवा विस्तार गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij