ई-आर्थिक, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–२ घुसुकपुरस्थित ईदगाह चोकबाट स्रोत नखुलेको ठूलो मात्राको नगदसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही स्थानका ३९ वर्षीय संजय कुमार साह र बारा जिल्ला महागढीमाई नगरपालिका–४ बगडमपुरका ४१ वर्षीय शनि कुमार ठाकुर रहेका छन्। उनीहरूलाई बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बीआर ०५ एबि ७७६१ र प्रदेश २-०३-००२ प ५५४४ नम्बरका मोटरसाइकलमा सवार ती दुई व्यक्तिसँग नगद रु १४ लाख १३ हजार ५ सय फेला परेको हो, जसको कुनै स्पष्ट स्रोत नखुलेपछि उनीहरूलाई पक्राउ गरिएको हो।
हाल पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखी घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।