काठमाडौं : सिंहदरबारभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारी भइरहँदा, सोही विधेयकका केही प्रावधानविरुद्ध निजी विद्यालय सञ्चालकहरू सडकमा उत्रिएका छन्।
प्याब्सन र एन-प्याब्सनको संयुक्त आव्हानमा उनीहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै नयाँबानेश्वर चोकसम्म विरोध र्याली निकालेका हुन्। र्यालीपछि माइतीघरमै कोणसभा आयोजना गर्ने तयारी छ।
प्रदर्शनकारीहरूले शिक्षा विधेयकका केही प्रावधानहरू निजी विद्यालयमैत्री नभएको आरोप लगाएका छन्। उनीहरूका अनुसार विधेयकले निजी विद्यालयको स्वतन्त्रता खुम्च्याउने प्रयास गरेको छ।
यस्ता छन् मुख्य मागहरू:
-
“पूर्ण छात्रवृत्ति” शब्द खारेज गरिनु पर्ने
-
पोशाक, स्टेशनरी, खाना–खाजाजस्ता शैक्षिक सामग्री विद्यालयले उपलब्ध गराउनुपर्ने प्रावधान हटाइनु पर्ने
-
निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान खारेज हुनुपर्ने
-
छात्रवृत्तिको वितरण अधिकार विद्यालयकै हातमा रहनुपर्ने
यसबीच, संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विधेयक पारित गर्न दलहरूबीच छलफल जारी छ। निजी क्षेत्रको चासोबीच विधेयक पारित हुने वा संशोधनसहित अघि बढ्ने भन्ने विषयमा अन्योल कायम छ।