तनहुँ : तनहुँ जिल्लाको व्यास नगरपालिका–३ देउरालीनगर र वडा नं. १ भादगाउँलाई जोड्ने बुल्दीखोलामाथिको पुल निर्माण ठेकेदारको लापर्बाहीका कारण अलपत्र परेको छ। तीन वर्षअघि नै सम्पन्न हुनुपर्ने उक्त पुलको हालसम्म जम्मा ३८ प्रतिशत मात्र काम सम्पन्न भएको छ।
पुल निर्माणको काम २०७७ सालमा सुरु गरिएको थियो र २०७९ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर हालसम्म एक पिल्लर मात्र निर्माण भएको छ, त्यो पनि गुणस्तरहीन भएको कारण भत्काएर पुनर्निर्माण गर्न निर्देशन दिइएको थियो। पूर्वाधार विकास कार्यालय तनहुँका सिनियर इन्जिनियर रवीन्द्र तिवारीका अनुसार भत्काइएको भए पनि ठेकेदारले पुनर्निर्माणको काम सुरु गरेको छैन।
“पुलको बिममाथिको ढलानसमेत गुणस्तरहीन देखिएकोले पुनः निर्माण गर्न निर्देशन दिइएको हो,” इन्जिनियर तिवारीले बताए। उनका अनुसार निर्माण कम्पनीले प्राविधिक मापदण्ड नपुगेको काम गरेकाले काम रोकिएको हो।
पुल निर्माणका लागि पाँच करोड १० लाख ३३ हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो। तर ठेकेदारको ढिलासुस्तीका कारण जनताको दैनिक जीवनमा असर परेको छ।
स्थानीय जनताको अनुसार व्यास नगरपालिका–१, २ र ३ का पाँच विद्यालय र एक कलेज जाने विद्यार्थीहरूले बर्खायाममा खोला तर्नु पर्ने बाध्यता छ। वर्षातको समयमा बुल्दीखोला निकै ठूलो हुने भएकाले सर्वसाधारणलाई जोखिम मोलेर आवतजावत गर्नुपरेको छ।
यता, पुल निर्माणमा विद्युत् ट्रान्सफर्मरको स्थानान्तरण नहुँदा थप समस्या आएको छ। अब ट्रान्सफर्मर हटाएर काम अघि बढाइने योजना रहेको कार्यालयले जनाएको छ।
स्थानीय बासिन्दाले काम शीघ्र सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। पुलको निर्माण रोकिँदा जनजीवनमा परेको असरप्रति व्यापक असन्तुष्टि जनाइएको छ।