ई-आर्थिक, बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ अन्तर्गतका नाँगी, राम्चे र काफलडाँडा लगायतका क्षेत्रमा यो वर्ष आलु उत्पादनमा तीव्र गिरावट आएको छ। उत्पादन घटेपछि स्थानीय मागमै धान्न गाह्रो परिरहेको छ।
चिसो हावापानी र उब्जनशील माटोका कारण यहाँको आलु स्वादिलो र पौष्टिक हुने भएकाले शहरी बजारमा यसको माग उच्च रहँदै आएको छ। वडामा निर्यात हुने मुख्य खाद्यबालीको रूपमा आलु खेतीलाई प्राथमिकता दिइन्छ।
तर, यस वर्षको खडेरी र समयमा वर्षा नपरेकाले उत्पादन लक्ष्यभन्दा निकै कम भएको नाँगीकी किसान तथा अन्नपूर्ण गाउँपालिका सदस्य राममाया पुन ले बताइन्। “अघिल्लो वर्ष धेरै किसानले आलु बेचेर एक लाख रुपैयाँसम्म आम्दानी गरेका थिए, तर यो वर्ष माग त छ तर उत्पादन पुग्दैन,” उनले भनिन्।
सिंचाइको भरपर्दो विकल्प नहुनु, आकासे पानीमा निर्भरता, बीउको प्रशोधन नगर्नु, र बाहिरबाट ल्याइएका बीउमार्फत रोग–कीरा फैलिनुले पनि उत्पादन घटाएको राम्चेका कृषक ओमबहादुर पुर्जा बताउँछन्।
गाउँका अधिकांश किसानहरू व्यावसायिक आलु खेती गर्दै आएका छन्। तर उत्पादन घटेपछि धेरै किसानहरू आफन्तलाई कोसेली पठाउने र घरमै उपभोग गर्ने उद्देश्यमा सीमित भएका छन्।
स्थानीय कृषक चन्द्रबहादुर खोरजा ले भने, “पहिले आलु धेरै हुन्थ्यो, गाईभैंसीलाई समेत खुवाइन्थ्यो। अहिले गाडीले गाउँमा पुग्न थालेपछि बजार सजिलो भए पनि उत्पादन नहुँदा बेच्न पाइएको छैन।” उनले गत वर्ष १० मुरी आलु बिक्री गरे पनि यो वर्ष बिक्री गर्न नपुग्ने अवस्था भएको बताए।
हाल नाँगीमा उत्पादन भएको आलु गाउँमै प्रति किलो ४५ रुपैयाँमा बिक्री हुन्छ भने शहरी बजारमा ८० देखि १०० रुपैयाँसम्ममा पुग्ने गरेको छ। यहाँ रातो, जनकदेव र रैथाने जातका आलु खेती गरिन्छ।
जिल्लाबाट वार्षिक १० करोड रुपैयाँ बराबरको आलु कुष्मा, बागलुङ, पोखरा, काठमाडौं लगायतका बजारमा बिक्री हुने गरेको छ। म्याग्दीमा एक हजार ८२० हेक्टर क्षेत्रमा आलुखेती हुने तथ्यांक छ। कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, र स्थानीय तहहरूले आलुखेती विस्तारमा सहयोग गरिरहेका छन्।
तर, पछिल्लो वर्ष देखिएको उत्पादन गिरावटले स्थानीय किसानको आम्दानीमा प्रत्यक्ष असर पारेको छ, जसले भोलिका दिनमा खेतीको निरन्तरता र उत्पादन वृद्धि रणनीतिमा पुनर्विचार आवश्यक भएको देखिन्छ।