ई-आर्थिक, कैलाली । सहरी विकास तथा भवन कार्यालय कैलालीले ‘जनता आवास कार्यक्रम’ अन्तर्गत कैलाली र कञ्चनपुरमा गरी २० वटा आवास निर्माण सम्पन्न गरेको छ।
सूचना अधिकारी रोहित अधिकारीका अनुसार उक्त घरहरू आर्थिक वर्ष २०८१/८२ मा निर्माण सम्पन्न भई लाभग्राहीलाई हस्तान्तरण गरिसकिएको छ। “सबै घर लाभग्राहीलाई बुझाइसकेका छौँ, उनीहरू घरमा बस्न थालिसकेका छन्,” अधिकारीले बताए।
प्रदेश सरकारको बजेटमा निर्माण गरिएका यी दुईकोठे घरहरूमध्ये कैलालीको जानकी गाउँपालिका–२, ५, ८ र ९ मा १० घर, र कञ्चनपुरको भीमदत्त नगरपालिका–३, ७, १०, ११ मा ६ घर तथा दोधारा–चाँदनी नगरपालिका–३, ६ र ७ मा ४ घर निर्माण गरिएको हो।
गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले सो कार्यक्रमका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
कार्यालयका अनुसार: कैलालीमा प्रतिघर निर्माण लागत: रु ४,८३,९९१ तथा कञ्चनपुरमा प्रतिघर निर्माण लागत: रु ४,९६,२३३ खर्च छ ।
कार्यक्रमअन्तर्गत प्रत्येक घर निर्माणका लागि सरकारले रु ३,५०,००० उपलब्ध गराएको थियो भने बाँकी रकम लाभग्राहीले श्रमदानमार्फत पुर्याएका थिए।