२०८३ साउन ११ सोमबार

भुक्तानी नपाएपछि दुग्ध सहकारीले दियो आन्दोलनको चेतावनी, चार अर्ब रुपैयाँभन्दा बढी भुक्तानी पाउन बाँकी

ई आर्थिक    बिहिबार, साउन २९ २०८२
3.8K
Shares
भुक्तानी नपाएपछि दुग्ध सहकारीले दियो आन्दोलनको चेतावनी, चार अर्ब रुपैयाँभन्दा बढी भुक्तानी पाउन बाँकी

ई-आर्थिक, चितवन ।   देशभरका दुग्ध उत्पादक सहकारीहरूले दूधको भुक्तानी नपाएको गुनासो गर्दै आन्दोलनको चेतावनी दिएका छन्। चितवनमा सम्पन्न केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको ३१औँ सञ्चालक समिति बैठकले आगामी भदौ ४ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने निर्णय गरेको हो।

संघका अध्यक्ष अम्बरबहादुर कुँवरका अनुसार सहकारीहरूले भुक्तानी नपाउँदा किसानलाई रकम दिन नसकिएको स्थिति आएको छ। “हामी सम्मानित दुग्ध किसान बन्न चाहन्छौँ, अपमानित होइन,” उनले भने, “त्यही कारण आन्दोलनको बाटो रोज्नुपरेको हो।”

कुँवरका अनुसार हाल सरकारी तथा निजी क्षेत्रबाट चार अर्ब रुपैयाँभन्दा बढी भुक्तानी पाउन बाँकी छ। यसमध्ये दुग्ध विकास बोर्डबाट एक अर्ब, र निजी उद्योगबाट तीन अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी रहेको जानकारी दिइयो।

संघले सरकारसँग भएका ११ बुँदे सहमति कार्यान्वयनमा नआएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव राम आचार्यले आगामी दिनमा भुक्तानी गर्ने र नगर्ने उद्योगको नामसहित सार्वजनिक गर्ने बताए।

उनका अनुसार केही उद्योगले नियमित भुक्तानी गरिरहेका छन् भने धेरैले लामो समयदेखि तिर्न बाँकी राखेका छन्। “एक सातासम्म भुक्तानी नगरिएका उद्योगलाई सूचना दिइनेछ,” आचार्यले भने, “भदौ ४ गतेसम्म पनि भुक्तानी नभए आन्दोलन सुरु गर्छौं।”

संघका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले किसानहरूको श्रमको उपेक्षा भइरहेको भन्दै भुक्तानीको आश्वासन मात्र पाउँदै आएको स्थिति स्वीकार्य नभएको बताए। “यसपालिको आन्दोलन किसानका लागि न्यायको आन्दोलन हुनेछ,” उनले भने।

संघका सचिव थानेश्वर सापकोटाले किसानहरूलाई विभिन्न बाहनामा भुक्तानी नदिने उद्योगहरूप्रति आक्रोश व्यक्त गरे। “सरकार र निजी क्षेत्रको उदासिनताले किसान संकटमा छन्,” उनले भने, “यो अवस्था यथावत् रहन सक्दैन।”

हाल देशभर ६४ जिल्लामा दूध उत्पादन भइरहेको छ भने ३६ जिल्लामा जिल्ला दुग्ध उत्पादक सहकारी सक्रिय छन्। संघका अनुसार एक हजार ८७२ दुग्ध उत्पादक सहकारीहरूले दैनिक १३ लाख लिटर दूध उत्पादन गर्दै आएका छन्। ती सहकारीमा ६ लाख परिवार आबद्ध छन्, भने देशभर ३० लाखभन्दा बढी किसान दूध उत्पादनमा संलग्न छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij