ई-आर्थिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालगन्ज–दिल्ली सिधा हवाई उडान सुरु गर्न अब प्रभावकारी पहलको आवश्यकता औँल्याएका छन्।
आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य संघ बाँकेको आयोजनामा तथा महासंघको सहकार्यमा सम्पन्न सर्वपक्षीय छलफल कार्यक्रममा बोल्दै उनले यो उडानले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समग्र विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
“नेपालगन्ज कृषि, पर्यटन र व्यापारको हिसाबले उच्च सम्भावना बोकेको क्षेत्र हो,” ढकालले भने, “दिल्लीसँग सिधा हवाई सम्पर्कले यस क्षेत्रको आर्थिक तथा क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ।”
ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा यस एजेण्डालाई प्राथमिकताका साथ उठाउन महासंघले पहल गर्ने जानकारी पनि दिए।
उनले भने, “सपना साकार पार्न सबै सरोकारवाला एकजुट हुन जरुरी छ। राज्यले निर्माण गरिसकेको विमानस्थलहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न अब ढिलाइ गर्नु हुँदैन।”
ढकालले देशको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले उल्लेखनीय लगानी गरिसकेको बताउँदै ‘देशमै केही गर्न सकिन्छ’ भन्ने सोचका साथ अघि बढे प्रतिफल सुनिश्चित हुने धारणा राखे।
कार्यक्रममा पूर्वमन्त्री, सांसद, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पर्यटन व्यवसायी, सञ्चारकर्मी लगायतका सरोकारवाला निकायको सक्रिय उपस्थिति थियो।
उक्त छलफलमार्फत सरोकारवालाहरूले पनि सिधा उडानको मागलाई औपचारिक रुपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।