ई-आर्थिक, झापा । आयातित तरकारीको भरमा चल्दै आएको पूर्वी झापाको बजार परिवर्तित हुँदै गएको छ। झापा बिर्तामोड नगरपालिकाले सञ्चालनमा ल्याएको सामुदायिक तरकारी बिक्री केन्द्रमार्फत अहिले उपभोक्ताले आफ्नै नगरभित्रै उत्पादन भएका ताजा र विषादीमुक्त तरकारी किन्न थालेका छन्।
बिर्तामोड–५ की उषा राईजस्ता स्थानीय उपभोक्तालाई अब भारतबाट आउने तरकारीको भर पर्दैन। उनी भन्छिन्, “यहाँको तरकारी विषादीरहित र सस्तो पनि छ। अब पारिको तरकारी किनेर खाने बेला छैन।”
केही वर्षअघिसम्म सीमावर्ती भारतीय बजार पानीट्यांकी, नक्सलबाडी र गलगलियाबाट तरकारी किन्ने चलन थियो। तर बिर्तामोड नगरपालिकाले सञ्चालनमा ल्याएको ‘पारिको होइन, वारिको खाउँ’ अभियानले यो निर्भरता तोडेको छ।
नगरपालिकाले २०७५ सालमा विषादीमुक्त नगर अभियान सुरु गरेसँगै व्यावसायिक कृषकहरूलाई बीउ, मल, तालिम, उपकरण र प्राविधिक सहयोग दिँदै आत्मनिर्भरता बढाउन थालेको हो। हालसम्म १५७ जना व्यावसायिक किसान यो कार्यक्रममा आबद्ध भइसकेका छन्।
सातवटा सामुदायिक बिक्री केन्द्र र एक मुख्य संकलन केन्द्रमार्फत कृषकको उत्पादन बजारसम्म पुर्याउने व्यवस्था गरिएको छ। नगरका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाका अनुसार, बिक्री केन्द्रमार्फत विगत आर्थिक वर्षमा मात्रै २७६ मेट्रिकटन तरकारी संकलन भएको छ।
त्यस्तै, उत्पादनको न्यूनतम मूल्य सुनिश्चित गर्न नगरपालिकाले १६ प्रकारका तरकारीका लागि समर्थन मूल्य तोकेको छ। बजारमा मूल्य नपाएका किसानलाई प्रतिकिलो मूल्यअनुसार क्षतिपूर्ति दिइएको छ। विगत वर्षमा मात्रै ६७ जना किसानले १२ लाख ८१ हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन्।
बिर्तामोड–७ स्थित ‘हाम्रो कृषि फार्म’ का सञ्चालक प्रदीप खनालले नगरपालिकाको सहयोगले युवा कृषिमा आकर्षित भएको बताए। “एक करोडभन्दा बढी मुनाफा कृषिबाटै गर्न सकेको छु,” उनले भने।
नगरप्रमुख पवित्रा महतरा प्रसाईंका अनुसार, नगरपालिकाले वार्षिक डेढ करोड रुपैयाँभन्दा बढी कृषिमा लगानी गरिरहेको छ। उपप्रमुख नगेन्द्र सङ्ग्रौलाका अनुसार, सामुदायिक बिक्री केन्द्रमा पठाउने सबै उत्पादनको विषादी अवशेष परीक्षण गरिन्छ।
बिर्तामोड नगरपालिकामा एक लाख १६ हजारभन्दा बढी जनसंख्या छ। कृषि योग्य जमिन ९२ प्रतिशतभन्दा धेरै रहेको नगरमा हाल २४ प्रतिशत जमिनमा वर्षभरि सिँचाइको सुविधा छ। अर्गानिक उत्पादन र आयात प्रतिस्थापनमार्फत नगर आत्मनिर्भरतातर्फ अग्रसर भएको वडा नं ५ का अध्यक्ष रोहित प्रसाईं बताउँछन्।
प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार, २०८१/८२ मा मात्रै भारतबाट ३८ करोड रुपैयाँभन्दा बढीको तरकारी र फलफूल झापामा भित्रिएको थियो। यो परनिर्भरता घटाउने उद्देश्यले सञ्चालनमा आएको ‘पारिको होइन, वारिको खाउँ’ अभियान अहिले बिर्तामोड नगरवासीको पहिचान बन्दै गएको छ।