ई-आर्थिक, जनकपुरधाम । पछिल्ला दिनहरूमा मधेस प्रदेशमा परेको लगातारको वर्षाले धान रोपाइँमा उल्लेख्य सुधार आएको छ। प्रदेशको कृषि निर्देशनालयका अनुसार शुक्रबारसम्म कुल ७२ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ।
यसअघि वर्षा ढिलो हुँदा धान रोपाइँमा अपेक्षित प्रगति नभए पनि पछिल्लो एक सातादेखिको वर्षाले किसानहरू खेतमा व्यस्त बनेका छन्। धनुषा, महोत्तरी, सिरहा, सप्तरी र रौतहट जिल्लामा सिँचाइ र वर्षाको अभावका कारण रोपाइँ सुस्त रहेकोमा हाल ती जिल्लाहरूमा रोपाइँ फेरि तीव्र भएको वरिष्ठ बागवानी अधिकृत प्रदीप यादवले जानकारी दिए।
उनका अनुसार बारा र पर्सा जिल्लामा भने रोपाइँ शतप्रतिशत सम्पन्न भइसकेको छ। नारायणी सिँचाइ व्यवस्थापन कार्यालय (गण्डक)का सूचना अधिकारी सुरेश साहले बारा–पर्साका किसानलाई नहरमार्फत सिँचाइको सुविधा नियमित उपलब्ध गराइएको बताए।
यद्यपि, वर्षा ढिलो भएकाले यस वर्ष धान उत्पादन अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले कम हुने अनुमान गरिएको छ। निर्देशनालयले दिएको जानकारी अनुसार, मधेस प्रदेशमा करिब ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ।
यसैबीच, मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ। त्यसपछि कृषकलाई राहत दिन कृषि ज्ञान केन्द्रमार्फत स्यालो ट्युववेल वितरणको प्रक्रिया पनि सुरु गरिएको छ। पानीको पहुँच नपुगेका क्षेत्रमा यस्ता सिँचाइका वैकल्पिक साधनले खेतीमा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ।