ई–आर्थिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले अनुमति बिना सञ्चालनमा रहेका ४५ वटा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्रहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ।
शिक्षा विकास तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट आवश्यक अनुमति नलिइ सञ्चालनमा आएका ती परामर्श केन्द्रहरूलाई बन्द गराउन प्रहरीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रकाश पौडेलले जानकारी दिए।
उनका अनुसार पटक–पटक सूचना जारी गर्दा पनि आवश्यक कागजात पेश नगरेका संस्थामाथि कारबाही गर्न सुरक्षा निकायलाई पत्र पठाइएको छ। “हामीले तीन चरणमा सूचना जारी गर्यौं। जसअनुसार पहिलो चरणमा २४१ वटा, दोस्रो चरणमा १६ वटा र तेस्रो चरणमा २१ वटा संस्थाले मात्र कागजात बुझाएका छन्,” प्रजिअ पौडेलले भने, “बाँकीले कागजात नपेस गरेपछि तिनीहरूलाई बन्द गर्न निर्देशन दिएका हौं।”
प्रशासनका अनुसार केही परामर्श केन्द्रबाट विद्यार्थी ठगिएको उजुरीहरू पनि परेका थिए। सोही आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको हो।
प्रजिअ पौडेलका अनुसार अब उक्त निर्देशनको कार्यान्वयन प्रहरी प्रशासनले गर्नेछ।