काठमाडौं — वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाई पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका–१२ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–३ मा बसोबास गर्दै आएका ४१ वर्षीय राम बहादुर थिङ र रामेछाप नगरपालिका–३ घर भई हाल भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ मा बस्ने ३७ वर्षीय चन्द्र बहादुर सुवेदी रहेका छन्।
राम बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २९ लाख रुपैयाँ ठगेका थिए भने चन्द्र बहादुरले हंगेरी पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रुपैयाँ लिएको आरोप छ। रकम लिएपछि दुवै अभियुक्त सम्पर्कविहीन भएको पीडितहरूले उजुरी दिएका थिए।
उक्त उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले राम बहादुरलाई मंगलबार र चन्द्र बहादुरलाई बुधबार भक्तपुरबाट पक्राउ गरेको हो।
पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।