ई-आर्थिक, काठमाडौं । गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक वितरक नेब्युला इनर्जीले नेपालमै पहिलोपटक विद्युतीय दुईपांग्रे सवारीका लागि ‘BuyBack Guarantee’ (पुनः खरीद ग्यारेन्टी) कार्यक्रम सुरु गरेको छ। कम्पनीले ल्याएको यो नयाँ योजना ग्राहकको विश्वास जित्न तथा ब्रान्डको दीर्घकालीन प्रतिबद्धता देखाउन लक्षित गरिएको छ।
नेब्युला इनर्जीका अनुसार, गोगोरो ‘BuyBack Guarantee’ कार्यक्रम ल्याउने पहिलो विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड बनेको छ। २०८२ साउन १९ गतेदेखि लागू भएको यो योजनाअन्तर्गत ग्राहकले स्कुटर खरिद गरेको मितिबाट पाँच वर्ष वा ४०,००० किलोमिटर (जुन पहिले पूरा हुन्छ) सम्म, रु १ लाखसम्मको सुनिश्चित पुनः बिक्री मूल्य पाउनेछन्।
ईभी प्रयोगकर्ताहरूको प्रमुख चिन्ता ब्याट्रीको क्षमतामा हुने ह्रास र त्यसले स्कुटरको पुनः बिक्री मूल्य घटाउने विषय हो। तर गोगोरोले भने यो समस्याको समाधान ब्याट्री स्वापिङ प्रविधिबाट गरेको छ। परम्परागत विद्युतीय सवारीहरूमा जस्तो ब्याट्री ग्राहककै सम्पत्ति हुँदैन; गोगोरोमा भने ग्राहकले ब्याट्री किन्ने होइन, कम्पनीद्वारा सञ्चालित ब्याट्री स्वाप स्टेशनमार्फत सधैँ चार्ज भएको ब्याट्री साटासाट गर्ने सुविधा प्राप्त गर्छन्।
यस प्रविधिका कारण गोगोरोले ग्राहकलाई निश्चित पुनः बिक्री मूल्य दिने योजना अघि सार्न सफल भएको हो। कम्पनीले यसलाई नेपालका विद्युतीय सवारी साधन क्षेत्रका लागि एक नयाँ मापदण्डका रूपमा लिएको छ।
गोगोरो नेपालका जनरल म्यानेजर चिरञ्जीवी शाहले भने, “गोगोरो नेपालको यातायातको भविष्य हो। सुरुदेखि नै हामीले पूर्वाधार निर्माणमा लगानी गर्दै आएको छौं। काठमाडौँभर ४५ वटा ब्याट्री स्वापिङ स्टेसन निर्माण गरेपछि मात्र सेवा सुरु गरेका थियौं। आज हामी त्यही प्रतिबद्धतालाई अझ अगाडि बढाउँदैछौं।”
यस कार्यक्रमसँगै कम्पनीले एलबी अटो शोमार्फत दशैं लक्षित विशेष अफरहरू पनि ल्याएको छ। जसअन्तर्गत ब्याट्री स्वाप प्रणालीमा सहभागी हुन चाहने ग्राहकहरूलाई विशेष छुट तथा अतिरिक्त सुविधा दिइनेछ। साथै, आगन्तुकहरूले गोगोरोको छिटो, सहज र सुरक्षित ब्याट्री स्वाप प्रविधिको प्रत्यक्ष डेमो हेर्न सक्नेछन्। काठमाडौँभरका स्वाप स्टेसनहरूलाई अझ प्रभावकारी बनाउँदै, सेवा गति बढाइएको पनि जानकारी दिइएको छ।
यसैबीच, हालसालै अपग्रेड गरिएको गोगोरो स्कुटर पनि पहिलोपटक सार्वजनिक रूपमा सोही अटो शोमा प्रदर्शन गरिएको छ।
गोगोरोले पूर्वाधार, प्रविधि, दीर्घकालीन मूल्य सुनिश्चितता र ग्राहककेन्द्रित सेवाको संयोजनमार्फत नेपालमा विद्युतीय यातायातको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै गएको छ।