ई-आर्थिक, काठमाडौं । काठमाडौंको कलंकी क्षेत्रबाट अभौतिक मुद्राको अवैध कारोबारमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति २१ वर्षीय सुसान्त दाहाल हुन्, जो हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारमा बसोबास गर्दै आएका थिए। उनको स्थायी ठेगाना मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१६, चिसापानी हो।
जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको टोलीले शनिबार साँझ उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, कलंकी क्षेत्रमा अभौतिक मुद्रा कारोबार भइरहेको भन्ने सूचनाका आधारमा कारबाही गरिएको हो।
अनुसन्धानको क्रममा दाहालले अभौतिक मुद्राको प्रयोग गरेर ७८ लाख ३० हजार ३ सय ८८ रुपैयाँभन्दा बढीको कारोबार गरेको खुलेको छ।
उनीमाथि अभौतिक मुद्राको अवैध कारोबार (क्रिप्टो ट्रेडिङ) गर्न नहुने कानुनी प्रावधान अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।