काठमाडौं : नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाले गरेको परीक्षण प्रतिवेदनलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको छ। यो मान्यतापछि नेपाली खाद्य उत्पादनलाई विदेशमा निर्यात गर्न झनै सहज हुने भएको छ।
विभागले २२ खाद्य समूह अन्तर्गत ८१४ वटा परीक्षण प्यारामिटरमा गरिएको विश्लेषणलाई भारतसहित विश्वका प्रमुख खाद्य नियामक निकायहरूले मान्यता दिएका छन्। यसले नेपाली अदुवा, अलैँची, चाउचाउ, जुस, तरकारी लगायतका वस्तुहरू भारत निर्यात गर्दा झेल्नुपर्ने पूर्वका अवरोध हटाउने अपेक्षा गरिएको छ ।
ऐतिहासिक उपलब्धि : अब परीक्षणका लागि विदेश जानुपर्ने छैन
विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले आइतबार आयोजित पत्रकार सम्मेलनमा यो मान्यतालाई “नेपालका लागि ऐतिहासिक उपलब्धि” भनेका छन्। उनका अनुसार अब भारतको कोलकाता, मुम्बई, नागपुर, बैंगलोर जस्ता शहरहरूमा खाद्य परीक्षण गराउनुपर्ने बाध्यता हटेको छ। “हाम्रो प्रमाणपत्रले नै अब भारतीय सीमा पार गर्न सक्नेछ,” कर्णले भने।
लागत घट्ने, समय बचत हुने
पहिले विदेशी प्रयोगशालामा परीक्षण गराउँदा समय, पैसा र स्रोतको बढी खपत हुने गरेकोमा अब नेपालमै परीक्षण सम्भव भएपछि उद्योगी, व्यापारी तथा निर्यातकर्ताले ठूलो राहत पाउने भएका छन्। कर्णका अनुसार, पछिल्लो समय नेपाली उद्योगीहरूले भारत जानुका सट्टा नेपालमै परीक्षण गराउन थालेका छन्।
भारतको NABL र FSSAI बाट मान्यता
विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार प्रयोगशालाले भारतको नेशनल एक्रिडिएसन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याबोरेट्री (NABL) बाट २७२ वटा केमिकल र १४२ वटा माइक्रो बायोलोजिकल प्यारामिटरमा परीक्षण गर्न सक्नेगरी मान्यता पाएको छ।
त्यस्तै, भारतको फुड सेफ्टी एण्ड स्ट्यान्डर्ड अथोरिटी (FSSAI) बाट ५३८ केमिकल र १४२ माइक्रो बायोलोजिकल गरी कुल ६८० प्यारामिटरमा परीक्षण गर्न अनुमति प्रदान गरिएको छ।
यी समूहका वस्तु परीक्षण गर्न मान्यता
-
खाद्यमा प्रयोग हुने एडिटिभ, कन्टामिनेन्ट, विषादी अवशेष, कृत्रिम रङ, प्रिजरभेटिभ, भिटामिन, मिनरल्स, मेटल, अफ्लाटक्सिन जस्ता तत्वहरूको परीक्षण।
-
खाद्य समूह: अदुवा, अलैँची, चामल, गहुँ, मकै, कोदो, जुस, जाम, जेली, अचार, क्याण्डी, तयारी चाउचाउ, ताजा फलफूल तथा तरकारी, चिया-कफी, दुध तथा डेरी उत्पादन, मह, मासुजन्य उत्पादन, स्पाइस, छुर्पी, पेयपदार्थ र डाइटरी सप्लिमेन्ट्स।
परीक्षणको इतिहास
-
सन् २०१२ मा २७ केमिकल प्यारामिटरबाट परीक्षण सुरु।
-
सन् २०१५ मा ३९ प्यारामिटरमा NABL एक्रिडिटेशन।
-
सन् २०१९ मा १०२ प्यारामिटरमा NABL मान्यता।
-
सन् २०२३ मा २८६ प्यारामिटरमा NABL, ३५० प्यारामिटरमा FSSAI एक्रिडिटेशन।
२०२५ अप्रिल ४ मा भारतको मान्यता
नेपाल र भारतबीचको समझदारीअनुसार २०२५ अप्रिल ४ मा भारतले नेपाली प्रयोगशालाबाट परीक्षण गरिएका ८ प्रकारका खाद्य वस्तुहरू (जुस, जाम, जेली, अचार, क्याण्डी, चाउचाउ, अदुवा, ताजा तरकारी तथा फलफूल) को रिपोर्टलाई आयात प्रयोजनका लागि औपचारिक मान्यता दिएको हो।