ई–आर्थिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले अर्थ मन्त्रालयले विषयगत मन्त्रालयहरूसँग छलफल सुरु गरेको छ।
आजको पहिलो चरणको छलफल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्पन्न भएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जानकारी दिएको छ। छलफलमा मन्त्रालयगत योजना, कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुनी, प्रक्रियागत र व्यवहारिक तयारीका विषयमा गहन विमर्श भएको हो।
उद्योग मन्त्रालयको बजेटमा उल्लेखित भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ। यसका लागि आधुनिक प्रविधिको हस्तान्तरण, सीपमूलक तालिम, र उत्पादनलाई बजारसँग जोड्ने रणनीति अपनाउने विषयमा छलफल भएको छ।
त्यस्तै, उपत्यकामा रहेका उद्योगहरूलाई बाहिर स्थानान्तरण गरी राजधानीको वातावरणीय प्रदूषण कम गर्ने र स्थानान्तरण हुने उद्योगलाई विशेष सहुलियत दिने प्रस्ताव पनि बैठकमा उठाइएको थियो।
छलफलमा नेपालमै अन्तरराष्ट्रियस्तरको गुणस्तर प्रयोगशाला स्थापना गर्ने विषयमा समेत विचार-विमर्श भएको छ, जसलाई भारत, चीनलगायत अन्तरराष्ट्रिय समुदायले मान्यता दिने गरी अघि बढाइनेछ।
त्यसैगरी, मकवानपुरको मयुरधाप र चितवनको शक्तिखोर क्षेत्रमा आधुनिक औद्योगिक क्षेत्र निर्माणका विषयमा समेत छलफल गरिएको सचिवालयले जनाएको छ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थसचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय डा. रामप्रसाद घिमिरे र कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।
अर्थ मन्त्रालयले अन्य सबै विषयगत मन्त्रालय तथा सम्बन्धित विभागहरूसँग पनि क्रमशः बजेट कार्यान्वयनसम्बन्धी छलफल गर्ने तयारी गरिरहेको छ।