ई–आर्थिक, खोटाङ । पोषिलो र परम्परागत अन्नबाली कोदोले अब व्यावसायिक रूप लिएको छ। ‘प्रथम राष्ट्रिय कोदो दिवस–२०८२’ को अवसरमा खोटाङको दिक्तेलमा ‘दिक्तेल कोदो बिस्कुट’ नामक नयाँ उत्पादको औपचारिक सार्वजनिक गर्दै यसको व्यावसायिक उत्पादन र बजारीकरण सुरु गरिएको हो।
शुभम् फाउण्डेशनले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहकार्यमा उत्पादन सुरु गरेको बिस्कुट ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको उपकरणमार्फत बनाइएको हो। फाउण्डेशनका कार्यकारी निर्देशक सूर्य राईका अनुसार बिस्कुटमा स्थानीय स्तरमै उत्पादित कोदोको पिठो, घ्यू, दूध र चिनी प्रयोग गरिएको छ। सय ग्राम तौलको एक प्याकेट बिस्कुटको मूल्य ५० रुपैयाँ तोकिएको छ।
शनिबार आयोजित एक विशेष कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलगायतले संयुक्त रूपमा बिस्कुट सार्वजनिक गरे। त्यससँगै औपचारिक रूपमा यसको बजार प्रवेश भएको हो।
कार्यक्रममा फाउण्डेशनले कृषि ज्ञान केन्द्र र नगरपालिकासँगको सहकार्यमा कोदोबाट बनेका अन्य परिकारहरू—केक, मःम, कुकिज, सेलरोटी, आरखा (कोदो रक्सी) र तोङ्बा समेत प्रदर्शनीमा राखिएको थियो।
कार्यकारी निर्देशक राईले कोदोका परिकारहरूको व्यावसायिक उत्पादनमार्फत गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्य रहेको बताए। उनले भने, “हामीले जिल्लामा उत्पादन हुने सम्पूर्ण कोदो किसानबाट खरिद गर्नेछौं। उत्पादन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको मापदण्ड अनुसार गरिएको हो।”
कार्यक्रममा सहभागी अतिथिहरूले कोदो बिस्कुटलाई स्वादिलो, स्वास्थ्यवर्द्धक र गुणस्तरीय भन्दै प्रशंसा गरेका थिए।
जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले रैथाने उत्पादनको प्रवर्द्धनले गाउँमै स्वरोजगार सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। “अब समृद्धिको खोजीमा गाउँ छोड्नु पर्ने अवस्था हट्छ,” उनले भने।
नगर उपप्रमुख विशन राईले ‘उपप्रमुखसँग कृषक कार्यक्रम’ अन्तर्गत रैथाने बाली प्रवर्द्धनका लागि ५० प्रतिशत अनुदानको नीति लिइएको जानकारी दिए। नगर कृषि शाखा प्रमुख तेजप्रसाद जैसीका अनुसार कोदोमा चामल र मकैभन्दा ३५ गुणा बढी क्याल्सियम पाइन्छ।
फाउण्डेशनले उत्पादन गरेका कोदोका परिकारहरूलाई नगरभित्रका विद्यालयमा दिवा खाजाका रूपमा प्रयोग गर्ने तयारी समेत गरिरहेको जनाएको छ।
कार्यक्रममा आयोजित ‘कोदोको उपयोगिता’ विषयक वक्तृत्वकला प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालयकी विद्यार्थी विपासा खनाल प्रथम भएकी छन्। प्रतियोगिताका विजेता र व्यावसायिक कृषकहरूलाई नगदसहित सम्मान गरिएको थियो।
स्वास्थ्य विज्ञहरूका अनुसार कोदोमा रोग प्रतिरोधात्मक क्षमता बढाउने तत्वहरू प्रशस्त मात्रामा पाइन्छ, जसले मधुमेह, उच्च रक्तचाप र मुटुरोग नियन्त्रणमा सहयोग पुर्याउँछ।