ई-आर्थिक, काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
यसअनुसार, कम्पनीका हालका शेयरधनीले एक कित्ता पुरानो शेयरको सट्टामा एक कित्ता नयाँ हकप्रद शेयर पाउनेछन्। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ४६ लाख ५७ हजार १४३ कित्ता शेयर जारी गर्दैछ, जसको कुल रकम ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबर हुनेछ।
हकप्रद शेयर निष्कासनका लागि कम्पनीले असार २७ गते बुक क्लोज गरेको छ। यस अनुसार, असार २६ गतेसम्म कम्पनीको शेयर किन्ने वा कायम नाममा रहेका लगानीकर्ताले मात्र हकप्रदका लागि आवेदन दिन सक्नेछन्। हकप्रद शेयरका लागि आवेदन दिने अन्तिम म्याद भदौ २३ गतेसम्म तोकिएको छ।
हकप्रद शेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मा सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ। लगानीकर्ताले सिटिजन्स क्यापिटल, कुमारी बैंकको ललितपुर शाखा तथा सिटिजन्स बैंक इन्टरनेशनलका कुमारीपाटी, ठिमी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौंडा शाखाबाट आवेदन दिन सक्ने छन्।
यस्तै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणालीमार्फत तथा ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरेर अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ।
हाल खानी खोला हाइड्रोपावरको चुक्ता पूँजी ४६ करोड ५७ लाख रुपैयाँ रहेको छ। हकप्रद बाँडफाँटपछि कम्पनीको पूँजी दोब्बर भई ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ। कम्पनीले हकप्रदबाट उठ्ने रकम ऋण तिर्न, ब्याज खर्च घटाउन, वित्तीय अवस्था सुदृढ गर्न तथा इक्विटी वृद्धि गर्न प्रयोग गरिने जनाएको छ।