२०८३ साउन १२ मंगलबार

काठमाडौँमा दस स्थानमा नयाँ पानीपोखरी निर्माण, दुई फोहोरपानी प्रशोधन केन्द्र सञ्चालनमा

ई आर्थिक    शुक्रबार, साउन १६ २०८२
4.3K
Shares
काठमाडौँमा दस स्थानमा नयाँ पानीपोखरी निर्माण, दुई फोहोरपानी प्रशोधन केन्द्र सञ्चालनमा

काठमाडौँ : उपत्यकावासीलाई स्वच्छ र सहज रूपमा खानेपानी वितरण गर्न मेलम्ची खानेपानी आयोजनाअन्तर्गत काठमाडौँ उपत्यकाका विभिन्न १० स्थानमा नयाँ पानीपोखरी निर्माण गरिएको छ।

आयोजना कार्यान्वयन निर्देशनालय (PID) का अनुसार महाँकाल, कीर्तिपुर (२ वटा), बालाजु, हेपाली हाइट, आरुबारी, जगडोल, ललितपुरको खुमलटार, भक्तपुरको कटुन्जे र टिगिनीमा पानीपोखरीहरू बनाइएका छन्। यी पोखरीहरूको कुल भण्डारण क्षमता ७४,५०० घनमिटर रहेको बताइएको छ।

निर्देशनालयका प्रवक्ता एवं उपनिर्देशक ई. विकेश बधानथाछेका अनुसार, मेलम्ची खानेपानी आयोजनाको उपआयोजनाअन्तर्गत सञ्चालन गरिएको काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरणमा यी संरचनाहरू निर्माण सम्पन्न भएका हुन्।

त्यस्तै, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट उपत्यकाभरिका पोखरीहरूमा दैनिक २२ करोड लिटर पानी पुर्‍याउने क्षमता भएको ७७ किलोमिटर लामो नयाँ थोक वितरण प्रणाली पनि निर्माण गरिएको छ।

खानेपानी पोखरीहरूसँगै उपत्यकावासीका धारामा स्वच्छ पानी पुर्‍याउन १,०१० किलोमिटर लामो वितरण पाइपलाइन बिछ्याइएको छ। साथै, स्वयम्भू, बालुवाटार, महाराजगञ्ज, धुम्बाराही, मण्डिखाटार, कपन, चाबहिल र बौद्ध क्षेत्रका लागि थप ८०० किलोमिटर पाइपलाइन निर्माण गरिएको हो।

फोहोरपानी व्यवस्थापनतर्फ पनि आयोजनाले उल्लेखनीय प्रगति गरेको छ। काठमाडौँको गुह्येश्वरीमा दैनिक ३ करोड २४ लाख लिटर फोहोरपानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ। पशुपति क्षेत्र आसपासको फोहोरपानी सफा गरेर बागमतीमा प्रवाह गर्ने लक्ष्य राखिएको छ।

यसैगरी ललितपुरको धोबीघाटमा निर्माणाधीन दुईमध्ये एक फोहोरपानी प्रशोधन केन्द्रको निर्माण सकिएको छ, जसको क्षमता प्रतिदिन ३ करोड ७० लाख लिटर रहेको छ।

धोबीघाटको दोस्रो केन्द्रसहित कोड्कु र भक्तपुरको सल्लाघारीमा पनि प्रशोधन केन्द्र निर्माण भइरहेको छ। यीमध्ये धोबीघाटको अर्को केन्द्रको क्षमता ३ करोड ७० लाख लिटर, कोड्कुको १ करोड ७५ लाख लिटर र सल्लाघारीको १ करोड ४२ लाख लिटर हुनेछ।

निर्देशनालयले हालसम्म निर्माण सम्पन्न भएका पानीपोखरी, थोक वितरण प्रणाली, र त्रिभुवन विश्वविद्यालयसहित ३३ वटा वितरण क्षेत्र (DMA) मध्ये १४ वटा क्षेत्रको स्वामित्व काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिसकेको छ।

कीर्तिपुर र आरुबारीका थप दुई पोखरी र बाँकी १९ DMA मध्ये ११ वटाको स्वामित्व हस्तान्तरणको तयारी भइरहेको छ भने अन्य ८ वटाको पनि चाँडै हस्तान्तरण गरिनेछ।

यस आयोजनाको उद्देश्य उपत्यकामा दशकौँदेखि जिर्ण भइसकेका पुराना पाइपलाइनहरू विस्थापन गरी चुहावटरहित र समानुपातिक वितरण प्रणालीमार्फत स्वच्छ खानेपानी घरघरमा पुर्‍याउनु रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij