२०८३ साउन १२ मंगलबार

निजगढ विमानस्थलको मोडालिटी टुंग्याइने

ई आर्थिक    बिहिबार, साउन १५ २०८२
5.6K
Shares
निजगढ विमानस्थलको मोडालिटी टुंग्याइने

ई-आर्थिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको मोडालिटी (कार्यविधि) छिट्टै टुंग्याइने बताएका छन्।

राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले निजगढ विमानस्थललाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा उल्लेख गर्दै यसलाई वर्तमान सरकारको प्राथमिकतामा राखिएको स्पष्ट पारे।

“निजगढ राष्ट्रिय गौरवको आयोजना हो। बजेट भाषणमा यसको निर्माण र सञ्चालनको मोडालिटी टुंग्याउने घोषणा गरिसकेका छौँ, हामी यो कार्य तदारुकताका साथ अघि बढाउँदैछौँ,” मन्त्री पाण्डेले भने।

उनले पोखरा र गौतमबुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थलहरू यात्रु अभावका कारण पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको स्वीकार गर्दै यात्रु संख्या वृद्धि गर्नका लागि विभिन्न योजना अघि बढाइएको जानकारी दिए।

“कतिपय हवाई सेवा प्रदायक कम्पनीहरूले यात्रुको संख्या नहुँदा करोडौँ घाटा भइरहेको जनाएका छन्। त्यसकारण यात्रु संख्या बढाउन श्रम स्वीकृति, मेनपावर कम्पनी र स्वास्थ्य परीक्षण जस्ता सेवाहरू सोही क्षेत्रमा लैजानुपर्छ,” उनले भने।

नेपाल एयरलाइन्सका ६ वटा विमान सञ्चालनमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले आगामी दिनमा कुनै पनि सञ्चालन व्यवधान नआओस् भनेर आवश्यक निर्देशन दिइसकेको जानकारी गराए। साथै, प्रदेश सरकारसँग सहकार्य गरेर पहाडी जिल्लामा साना जहाज सञ्चालनको तयारी भइरहेको पनि बताए।

मन्त्री पाण्डेले आगामी दशकलाई ‘पर्यटन प्राथमिकता दशक’ घोषणा गर्ने तयारी भइरहेको बताउँदै संघीय मन्त्रालय, तीन तहका सरकार र निजी क्षेत्रसँग मिलेर पर्यटन संवाद कार्यक्रम सञ्चालन भइरहेको बताए।

उनले नीतिगत तथा कानूनी सुधार, भ्रष्टाचार नियन्त्रण, र सुशासन प्रवर्द्धनमा जोड दिँदै मन्त्रालयका तर्फबाट विभिन्न योजनाहरू अघि सारिएको पनि बताए।

पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने प्रयास भइरहेकाे जानकारी दिए।

छलफलमा सांसदहरूले निजगढ विमानस्थलको मोडालिटी तत्काल टुंगो लगाउन, पोखरा र भैरहवा विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको योजना बनाउन र राष्ट्रिय गौरवका आयोजनाका लागि स्पष्ट मापदण्ड तय गर्न सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij