२०८३ साउन १२ मंगलबार

गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ

ई आर्थिक    बिहिबार, साउन १५ २०८२
2.9K
Shares
गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ

ई-आर्थिक, गुल्मी ।  जिल्लाका किसानहरू वर्षा सुरु भएसँगै रोपाइँमा व्यस्त बनेका छन्। केही ठाउँमा पानीका मुहान नफुटेकाले टारीहरूमा रोपाइँ नभए पनि जिल्लाका अधिकांश स्थानमा यस वर्ष समयमै रोपाइँ भएको हो।

जिल्लास्थित कृषि ज्ञान केन्द्रले साउन दोस्रो सातासम्ममा जिल्लामा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको जनाएको छ। केन्द्रका गुल्मीका सूचना अधिकारी शिवप्रसाद बञ्जाडेले जिल्लामा सात हजार ९८८ हेक्टर क्षेत्रफलमध्ये छ हजार ९५० हेक्टरमा रोपाइँ भएको जानकारी दिए।

गत वर्षको तुलनामा यसपटक रोपाइँको प्रतिशत बढेको बताउँदै गत वर्ष यस अवधिसम्ममा ७६ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको उल्लेख गरे। समयमा पानी परेकाले यसपटक छोटो अवधिमा पनि बढी रोपाइँ भएको उनको भनाइ छ।

रोपाइँकाे प्रतिशत बढे पनि खेतीयोग्य क्षेत्रफल भने घट्दै गएको बताउँदै बञ्जाडेले धान उत्पादन हुनेमध्ये यस वर्ष जिल्लामा ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको जानकारी दिए। यहाँ हंसराज, झोप्री, थापचिनी, पाखे, मार्सी, रातो मार्सी, जडन, झिनुवालगायत स्थानीय तथा साँवा मन्सुली, खुमल-१, खुमल-४, हिमाली हाइब्रिड, रामधानलगायत उन्नत जातका धानखेती हुँदै आएको केन्द्रले जनाएको छ।

धान रोपाइँको क्षेत्रफल घट्नुको मुख्य कारण जनशक्तिको अभाव, बढ्दो बसाइँसराइ, गोरुको अभाव, समयमा जोत्नका लागि ट्याक्टर नपाउने, खोलाको कटान, महँगो ज्यालालगायत समस्या रहेका कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालले बताए। उनका अनुसार जिल्लामा धान उत्पादनको कूल क्षेत्रफलमध्ये गत वर्ष चैते धान एक हजार २८६ र वर्षे धान २३ हजार १४० मेट्रिकटन उत्पादन भएको हो।

जिल्लामा बडिगाँड फाँट, चौरासी फाँट, छल्दी, निस्ती, पनाहा, सुदी, खैरेनी, खर्ज्याङ शान्तिपुर, मजुवालगायत फाँटहरू धान उत्पादनका लागि पकेट क्षेका रूपमा रहेका प्रमुख धितालले जानकारी दिए।

गुल्मीमा करिब पाँचसय हेक्टर क्षेत्रफलमा चैते धान रोपिन्छ। यहाँ धानबाली मकैपछिको दोस्रो प्रमुख खाद्यान्न बालीअन्तरगत पर्दछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij