२०८३ साउन ११ सोमबार

गण्डकी प्रदेशमा ७९ हजार बढी हेक्टरमा रोपाइँ

ई आर्थिक    बुधबार, साउन १४ २०८२
4.3K
Shares
गण्डकी प्रदेशमा ७९ हजार बढी हेक्टरमा रोपाइँ

ई-आर्थिक, गण्डकी ।  हालसम्म गण्डकी प्रदेशमा ७९ हजार ८३८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । जुन यस वर्ष रोपाइँ हुने क्षेत्रफलको झण्डै ८५ प्रतिशत हो । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष ९४ हजार १८२ हेक्टरमा रोपाइँ हुने अनुमान छ ।

पछिल्लो आकडाअनुसार सबैभन्दा धेरै बागलुङमा ९५ प्रतिशत, लमजुङमा ९३ दशमलव १८ प्रतिशत, कास्कीमा ९० दशमलव ०१ प्रतिशत, नवलपुरमा ७८ दशमलव ७० प्रतिशत, तनहुँमा ८८ प्रतिशत, म्याग्दीमा ८६ दशमलव ०५ प्रतिशत, स्याङ्जामा ८१ दशमलव ८४ प्रतिशत, गोरखामा ७८ दशमलव ४० र पर्वतमा ८० प्रतिशत रोपाइँ भएको हो ।

निर्देशनालयका कृषि अर्थविज्ञ मनोज पौडेलका अनुसार आकाशे पानीमा निर्भर हुने क्षेत्रमा रोपाइँ केही ढिला भएको छ । वर्षाले साथ दिएमा आगामी सातासम्ममा अधिकांश क्षेत्रको रोपाइँ सकिने छ । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ ।

गत वर्ष ९६ हजार ५३ हेक्टरमा धानखेती गरिएकामा यस वर्ष धानखेतीको क्षेत्रफल घटेको हो । घरघडेरीले धानको उब्जाउ क्षेत्र नासिनु, तीव्र सहरीकरणजस्ता कारणले धानखेतीको क्षेत्रफल खुम्चँदै गएको हो । क्षेत्रफल घटे पनि सिँचाइ, खेती प्रणालीमा सुधार, रोगकीरा नियन्त्रण, उन्नत बीउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुनसके धानको उत्पादकत्व बढ्ने कृषि अर्थविज्ञ पौडेलले बताए ।

गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिन्छ । प्रदेशको चार लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धानखेती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij