२०८३ साउन ११ सोमबार

युनाइटेड अजोड इन्स्योरेन्सले किसानको बीमा रकम दिएन, बीमा गर्ने किसान आक्रोशित

ई आर्थिक    शुक्रबार, साउन ९ २०८२
4.8K
Shares
युनाइटेड अजोड इन्स्योरेन्सले किसानको बीमा रकम दिएन, बीमा गर्ने किसान आक्रोशित

चितवन, रत्ननगर । पूर्वी चितवनका एक किसानले इन्स्योरेन्स कम्पनीले मरेका बङ्गुरको बिमा रकम नदिएको गुनासो गरेका छन् । रत्ननगरका पशुपालक पदम गिरीले मरेका बङ्गुरको भुक्तानी नपाएपछि आफू अन्यायमा परेको भन्दै सार्वजनिक रुपमा गुनासो गरेका हुन् ।

गिरीले खैरहनी नगरपालिका–४, चैनपुरमा सञ्चालन गरेको ‘गौशाला एकीकृत कृषि तथा पशु फार्म’मा रहेका ८७ मध्ये २० वटा बङ्गुरको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा बिमा गरेका थिए । उनले बिमा गरेका बङ्गुरहरू २०७९ साल भदौ २४ देखि २८ गतेको बीचमा मरेका थिए ।

बङ्गुर मरेको २४ घण्टा भित्रै सबै आवश्यक कागजातहरू (बिमा ट्यागसहितको फोटो, टोल विकास संस्था, इलाका प्रहरी कार्यालय खैरहनी, वडा कार्यालय र नगरपालिकाको पशुपन्छी शाखाबाट प्रमाणित कागजात) पेस गरिसकेको भए पनि कम्पनीले भिडियो नपुगेको भन्दै भुक्तानी दिन अस्वीकार गरेको गिरीको भनाइ छ ।

पत्रकार सम्मेलनमार्फत गिरीले भने, “मैले सम्पूर्ण प्रक्रिया पूरा गरें, तर कम्पनीले नियतवश पैसा नदिएको देखिन्छ ।” उनले आफूले इन्स्योरेन्स गराएका बङ्गुरको प्रतिगोटा १७ हजारका दरले जम्मा तीन लाख ४० हजार रुपैयाँ पाउनुपर्ने दाबी गरेका छन् ।

गिरीका अनुसार इन्स्योरेन्स कम्पनीका सञ्चालकले उनलाई ‘यो रकम भुक्तानी गर्न सकिन्न, सम्बन्धित बिमा संस्थानमा जाऊ’ भन्ने सुझाव दिएका छन् । “मैले कम्पनीको टाँडी शाखामा बङ्गुरको इन्स्योरेन्स गरेको हुँ, त्यसैले भुक्तानी पनि त्यहीँबाट पाउनु पर्छ, अन्य निकायमा म किन जानु ?” गिरीको प्रश्न छ ।

कम्पनीले दाबी रकम नदिए शाखा कार्यालयमा तालाबन्दी गर्ने चेतावनीसमेत दिएका गिरीले इन्स्योरेन्स कम्पनीको गैरजिम्मेवार व्यवहारप्रति आक्रोश व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij