२०८३ साउन १२ मंगलबार

सरकारद्वारा दूध उत्पादक किसानलाई तीन अर्ब रुपैयाँ बक्यौता भुक्तानी गर्ने निर्देशन

ई आर्थिक    शुक्रबार, असार १३ २०८२
2.9K
Shares
सरकारद्वारा दूध उत्पादक किसानलाई तीन अर्ब रुपैयाँ बक्यौता भुक्तानी गर्ने निर्देशन

ई-आर्थिक, काठमाडौं ।  सरकारले देशभरका दूध उत्पादक कृषकको करिब तीन अर्ब रुपैयाँ बक्यौता यही असार मसान्तसम्म उपलब्ध गराउन निर्देशन दिएको छ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले डेरी उद्योगको छाता संगठन नेपाल डेरी एसोसिएसनसँग दूध किसानको बक्यौता उपलब्ध गराउने विषयमा छलफल गरी अविलम्ब रकम फर्स्यौट गर्न निर्देशन दिएको हो।

निजी क्षेत्रबाट सञ्चालित विभिन्न डेरी उद्योगले लामो समयदेखि किसानले बिक्री गरेको दूधको भुक्तानी नगरेकाले उनीहरू समस्यामा परेका छन्। त्यस कार्यले उत्पादन तथा बजार आपूर्ति प्रभावित हुन सक्ने हुँदा चालु आर्थिक वर्षको असार मसान्तसम्म यथाशीघ्र भुक्तानी गर्नुपर्ने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए।

दैनिक गुणस्तरीय दूध सेवनका लागि जनचेतना जगाउने र पोषणयुक्त दुध तथा दुग्ध पदार्थको उपभोगमा वृद्धि गर्न सबै प्रदेशमा विभिन्न कार्यक्रम सञ्चालन गरेको डेरी एसोसिएसनलाई सरकारले विभिन्न सहुलियत तथा प्रविधिक, रचनात्मक सहयोग उपलब्ध गराउँदै आएको छ।

दुग्ध विकास संस्थानले गत पुस मसान्तसम्मको किसानको बक्यौताबापत रहेको करिब ९० करोड रुपैयाँ उपलब्ध गराइसकेको छ भने बाँकी रकम भुक्तानीको प्रक्रिया सुरु गरेको सूचना अधिकारी जोशीले जानकारी दिए।

मन्त्रालयले पशु तथा कृषि बीमा, बीउबिजन, मल, कृषि उपकरणमा किसानलाई अनुदानमा सहयोग गर्दै आएको जनाएको छ। विभिन्न किसान संघ संस्थाले समेत दुध किसानको रकम समयमै उपलब्ध गराउन माग गर्दै आएका थिए।

नेपाल किसान महासंघका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले किसानले उत्पादन गरेका दूधबाट विभिन्न दूधजन्य परिकार बनाएर नाफा कमाउने डेरी उद्योगले किसानलाई तिर्नुपर्ने रकम असुली गर्न सरकारले कडाइ गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij