२०८३ साउन १२ मंगलबार

वर्षौँदेखि अधुरा चार मोटोरेवल पुल एकैसाथ निर्माणको अन्तिम चरणमा, असार मसान्तसम्ममा आवतजावत हुने

ई आर्थिक    बुधबार, जेष्ठ २८ २०८२
2.6K
Shares
वर्षौँदेखि अधुरा चार मोटोरेवल पुल एकैसाथ निर्माणको अन्तिम चरणमा, असार मसान्तसम्ममा आवतजावत हुने

ई-आर्थिक, कञ्चनपुर । जिल्लामा समयमा निर्माण हुन नसकेका चार वटा पुल निर्माणको अन्तिम चरणमा पुगेका छन्। पटक-पटक म्याद थप भएर पनि समयमा निर्माण हुन नसकेर वर्षौंदेखि अधुरा रहेका चार वटा पक्की पुल निर्माणको काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सुचना अधिकारी इन्जिनियर हरिशप्रसाद जोशीले जानकारी दिए।

उनका अनुसार तीन पटक म्याद थप हुँदा पनि निर्माण हुन नसकेको कृष्णपुर नगरपालिकास्थित ओदाल खोलाको पुल निर्माण अन्तिम चरणमा छ। ‘म्याद थप गरेको समयमा समेत निर्माण कम्पनीले काम नगरेपछि १० प्रतिशत हर्जाना तिराएका छौँ’ उनले भने, ‘यस पटक उक्त पुल निर्माणको काम पनि अन्तिम चरणमा छ।’

उक्त पुल निर्माणका लागि २०७३ साल भदौ १७ मा १८ महिनामा सम्पन्न गर्ने गरी थेगिम गाल्भा जेभिसँग पाँच करोड ४७ लाखमा ठेक्का सम्झौता भएको थियो। समयमा निर्माण नभएपछि निर्माण कम्पनीलाई सडक डिभिजन कार्यालयले दश प्रतिशत हर्जाना तिराएको हो।

त्यसैगरी सम्झौताको ९ वर्षपछि कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको भुली-पर्सिया जोड्ने दोदा नदीको पुल निर्माणको काम पनि अन्तिम चरणमा छ। उक्त पुल निर्माणका लागि २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड २२ लाख ५७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

सम्झौताअनुसार पुल निर्माणको काम २०७५ पुससम्म सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता भएको ९ वर्षपछि पुल निर्माण हुन लागेको छ। ‘पुल निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ’ इन्जिनियर जोशी भन्छन, ‘यो आर्थिक वर्षभित्र उक्त पुल निर्माणको काम पनि सम्पन्न गर्ने गरी काम भइरहेको छ।’

त्यसैगरी पाँच पटक म्याद थप भएर पनि निर्माण हुन नसकेको दोधारा चाँदनीस्थित मलेरिया नालापुल निर्माणको काम पनि ५५ प्रतिशत सम्पन्न भएको डिभिजन सडक कार्यालय महेन्द्रनगरका सूचना अधिकारी जोशीले जानकारी दिए।

उनका अनुसार उक्त पुल निर्माणका लागि २०७४ बैशाख १४ गते १८ महिनामा निर्माण सम्पन्न गर्ने गरि शंकर मालि एकेला जेभिसँग चार करोड ६१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। त्यसैगरि बेदकोट नगरपालिका-७ स्थित मुसेपानी खोला पुल पनि पाँच पटक म्याद थप भएको हो।

२०७४ जेठ १० मा तीन वर्षभित्र सम्पन्न गर्ने गरी राजेन्द्र लुम्बिनी जेभीसँग १५ करोड ४३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। ‘पटक-पटक म्याद थप भएर पनि निर्माण हुन नसकेका पुल यस पटक निर्माण सम्पन्न हुँदै छन्’, सुचना अधिकारी जोशीले भने, ‘असार मसान्तसम्ममा आवतजावत हुने गरी काम भइरहेको छ।’

९२ प्रतिशत काम सम्पन्न भइ पहुँचमार्ग निर्माणको काम बाँकी छ। पहुँचमार्ग निर्माणका लागि बजेट अपुग भएकाले थप चार करोड रुपैयाँ रकम माग गरिएको छ। ‘दोदा नदी र मुसेपानी खोला पुलमा बजेट अभाव भएको छ त्यहीअनुसार हामीले थप बजेट माग गरेका छौँ’ जोशीले भने, ‘दुवै पुलमा काम भइरहेकाले असारसम्म सक्ने लक्ष्य छ।’

उनले दोदा पुलका लागि १० करोड र मुसेपानी खोला पुलका लागि चार करोड रुपैयाँ बजेट माग गरेको बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij