ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF)को नेपाल मिसन प्रमुख सरवत जहानबीच प्रारम्भिक औपचारिक भेटवार्ता भएको छ। उक्त भेटवार्तामा हाल चलिरहेको IMF Extended Credit Facility (ECF) व्यवस्था अन्तर्गत नेपालका लागि गरिने छैटौं समीक्षालाई लिएर छलफल गरिएको राष्ट्र बैंकले जनाएको छ।
बैठकमा गभर्नर डा. पौडेल र मिसन प्रमुख जहानले मिशनको उद्देश्यहरू, अपेक्षित उपलब्धिहरू (deliverables), तथा समग्र समीक्षाको कार्यविधिबारे विस्तृत छलफल गरेका थिए।
आइएमएफ टोलीले नेपालको वर्तमान आर्थिक स्थिति, वित्तीय प्रणालीको सुदृढीकरण, राजस्व तथा खर्च संरचना, र मौद्रिक तथा वित्तीय नीतिहरूका कार्यान्वयनका पक्षमा चासो देखाएको गभर्नर सचिवालयले जनाएको छ।
आइएमएफ को विस्तारित ऋण सुविधा (ECF) कार्यक्रमअन्तर्गत नेपालले आर्थिक सुधार, पारदर्शिता र वित्तीय क्षेत्रको सुदृढीकरणमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै आएको छ। पछिल्लो समीक्षाबाट आर्थिक वृद्धिदर, बजेट घाटा, विदेशी मुद्रा सञ्चिति, तथा समष्टिगत आर्थिक संकेतकहरूको मूल्यांकन गरिनेछ।