२०८३ साउन १० आइतबार

नौ महिनामा पेट्रोलियम पदार्थबाट ८९ अर्ब रुपैयाँ राजस्व संकलन

ई आर्थिक    बिहिबार, बैशाख ४ २०८२
3.3K
Shares
नौ महिनामा पेट्रोलियम पदार्थबाट ८९ अर्ब रुपैयाँ राजस्व संकलन

ई-आर्थिक, काठमाडौं ।  पेट्रोलियम पदार्थबाट ८९ अर्ब रुपैयाँ कर सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को चैतसम्म विभिन्न कर शीर्षकमा पेट्रोलियम पदार्थबाट सो राजस्व सङ्कलन भएको नेपाल आयल निगमले जनाएको हो ।

गत आव २०८०/८१ मा निगमले तीन खर्ब ५६ अर्ब ७२ करोड रुपैयाँको इन्धन आयात गरेर एक खर्ब १२ अर्ब १७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

निगमका अनुसार समीक्षा अवधिसम्म भन्सार शुल्कबापत २९ अर्ब ३५ करोड रुपैयाँ, मूल्य अभिवृद्धि कर (भ्याट) मार्फत ३३ अर्ब ९७ करोड सङ्कलन भएको छ । यस्तै वातावरण शुल्कबापत दुई अर्ब ३८ करोड, सडक मर्मत दस्तुरबापत चार अर्ब २९ करोड रुपैयाँ सङ्कलन भएको छ । पूर्वाधार विकास करबापत १५ अर्ब ८५ करोड, हरित करबापत एक अर्ब ५९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर २५ रुपैयाँ २० पैसा भन्सार शुल्क, चार रुपैयाँ सडक मर्मत शुल्क, १० रुपैयाँ, एक रुपैयाँ ३६ पैसा मूल्य स्थिरीकरण कोषमा, एक रुपैयाँ ५० पैसा वातावरण शुल्क, मूल्य अभिवृद्धि कर १८ रुपैयाँ र हरित करबापत एक रुपैयाँ सङ्कलन गर्छ ।

यस्तै डिजेल प्रतिलिटरमा भन्सार शुल्क १२ रुपैयाँ, सडकमर्मत दस्तुर दुई रुपैयाँ, पूर्वाधार विकास कर १० रुपैयाँ, मूल्य स्थिरीकरण कोष एक रुपैयाँ ५७ पैसा, मूल्य अभिवृद्धि कर १८ रुपैयाँ, वातावरण शुल्क एक रुपैयाँ ५० पैसा र हरित करबापत प्रतिलिटरमा एक रुपैयाँ सङ्कलन हुने गरेको छ।

हवाई इन्धन प्रतिलिटरमा भन्सार शुल्क प्रतिलिटर दुई रुपैयाँ १० पैसा, मूल्य स्थिरीकरण कोषमा एक रुपैयाँ ३६ पैसा र मूल्य अभिवृद्धि करमा १५ रुपैयाँ ८४ पैसा कर निगमले सङ्कलन गर्छ ।

खाना पकाउने एलपी ग्यास प्रतिलिटर भन्सार शुल्कबापत ८८ रुपैयाँ १९ पैसा, मूल्य स्थिरीकरण कोष १८ रुपैयाँ ९५ पैसा र मूल्य अभिवृद्धिकरमा २१२ रुपैयाँ १७ पैसा सङ्कलन हुने गरेको छ ।

पेट्रोलियम पदार्थ आयात हुने भन्सार नाकामा कर सङ्कलन हुने गर्छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले इन्धनबाट सङ्कलन हुने कर सिधै सरकारको खातामा जम्मा हुने गरेको जानकारी दिए । चालु आवको बजेटमार्फत डिजेल र पेट्रोल प्रतिलिटरमा एक रुपैयाँका दरले हरित कर लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij