२०८३ साउन ९ शनिबार

उदयपुरको बेल्टारमा सुविधासम्पन्न ‘होटल बेल’ सञ्चालनको अन्तिम तयारीमा, आइसक्रिम पार्लरदेखि इभी चार्चिङ्ग स्टेशनसहितको सुविधा

ई आर्थिक    शनिबार, फाल्गुन ३ २०८१
4.7K
Shares
उदयपुरको बेल्टारमा सुविधासम्पन्न ‘होटल बेल’ सञ्चालनको अन्तिम तयारीमा, आइसक्रिम पार्लरदेखि इभी चार्चिङ्ग स्टेशनसहितको सुविधा

ई–आर्थिक, बेल्टार । उदयपुरको प्रमुख व्यापारिक केन्द्र मध्येको एक बेल्टारमा सुविधा सम्पन्न होटल सञ्चालनको अन्तिम तयारीमा रहेको छ । ‘होटल बेल’ नामक उक्त होटल  लामो समय अनुभव बटुलेका साथै विभिन्न क्षेत्रमा आबद्ध स्थानीय युवाहरुले निर्माण गरेका हुन् ।

होटलका सञ्चालकहरुमा दिनेश ढुंगाना, विनोद सेढाई, किशोर कुमार कार्की, दिलिप सेढाई र मनोज सेढाई रहेका छन् ।

होटल व्यवसायका क्षेत्रमा अनुभवि व्यक्तिहरुद्वारा निर्माण गरेका उक्त होटल एकाइशौं शताब्दीका ग्राहकलाई सुहाउँदो सबैजसो सेवा सुविधाहरु रहने छन् ।

मदन भण्डारी लोकमार्गसँगै निर्माण गरिएको यो होटल लगानी र सुविधाको हिसावमा उदयपुरकै उत्कृष्ट होटल मध्येको एक भएको होटलका अध्यक्ष दिनेश ढुंगानाले जानकारी दिए । होटलबाटै हरियाली बन, मूख्य सडक र खोलाहरुको मनोरम दृष्य अवलोकन गर्दै स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरका परिकारको मज्जा लिन सकिने यो होटल उदयपुर जिल्लाकै पहिलो अपाङ्गमैत्री होटल भएको पनि अध्यक्ष ढुंगानाले दाबी गरे ।

सञ्चालनको अन्तिम तयारीमा रहेको होटल निर्माणको ९५ प्रतिशत काम सकिएको होटलका अर्का सञ्चालक दिनेश ढुंगानाले जानकारी दिए । बाँकी फिनिसिङ्ग गरेर होटललाई चाँडै सञ्चालनमा ल्याउने सञ्चालक ढुंगानालेले बताए ।

बेल्टार बजार उदयपुर जिल्लाको पूर्वी क्षेत्रको प्रमुख व्यापारिक केन्द्रको रुपमा स्थापित छ । खोटाङ जिल्लाका झण्डै एक तिहाई व्यापारी यही बजारबाट होलसेलमा सामान खरिद गर्ने गर्दछन् । त्यस्तै केही बर्षदेखि सुचारू भएको मदन भण्डारी लोकपथका कारणले पनि बेल्टारको महत्व बढाएको छ । पूर्णरुपमा कालोपत्रे र फराकिला सडकका कारण यही होटल हुँदै दैनिक सयौं निजी र भाडाका सवारी साधन आवात जावत गर्ने गर्छन् । खोटाङबाट आउने व्यापारीका साथै उक्त मदन भण्डारी लोकपथमा यात्रा गर्ने सबैले यो होटलको सुविधा उपभोग गर्न सक्ने सञ्चालक विनोद सेढाई बताउछन् ।

रूमको भाडा र सुविधाको हिसावले मध्यम देखि उच्च मध्यवर्गीयलाई लक्षित गरी होटल तयारी भएको सञ्चालक सेढाईले जानकारी दिए । होटलका लक्षित वर्ग पनि तिनै भएको उनको भनाई छ ।

होटलको आफ्नै दुई कठ्ठा क्षेत्रफलमा होटल फैलिएको छ । सम्पूर्ण पूर्वाधारमा होटलमा करिब तीन करोड लगानी भइसकेको छ । आवश्यकता हेरी लगानी बढाउन योजना रहेको अर्का सञ्चालक किशोरकुमार कार्की बताउँछन् ।

होटल सञ्चालनसँगै आफ्नै सुविधा सम्पन्न ‘इलेक्ट्रिक भेहिकल’ खरिद गर्ने सोचमा पनि रहेको सञ्चालक कार्कीले सुनाए । उक्त होटलकै सवारी साधनबाट ग्राहकलाई स्थानीय पर्यटकीय गन्तव्यसम्म ल्याउने लैजाने व्यवस्था गर्ने होटलको योजना रहेको उनले बताए । त्यसका लागि स्थानीय र आसपासका पर्यटकीय गन्तव्य प्याकेजको सूचि तयार गर्न लागिएको पनि सञ्चालक कार्कीले जानकारी दिए ।

सवारी साधान नहुने ग्राहकको लागि बेल्टारबाट केही किमिको दुरीमा अवस्थित कोशी व्यारेज, कंकालीमाई, छिन्नमस्ता, चतरा धाम, रौता पोखरी, हलेसी महादेवसम्म दर्शन गरेर आउन जान त्यही सवारी साधान प्रयोग गरिनेछ । सवारी साधान भएका ग्राहकलाई घुमेर आउन जान सहजिकरणका लागि आवश्यक परे ‘टुरिष्ट गाइड’को व्यवस्था पनि होटलले नै गरिदिने भएको छ ।

स्थानीय माछाको परिकारका लागि चतरा र कोशी व्यारेज चर्चित छन् । स्थानीय त्रियुगा नदिमा रहेको स्थानीय माछाको स्वाद, लोकल कुखुरा, बँदेल र बोकाको विशेष परिकारको स्वाद यसै होटलबाट लिन सकिने छ ।

घुमघामको लागि समेत कोशी ब्यारेज र चतरा अति उपयुक्त ठाउँ मानिन्छ । त्यस्तै धार्मिक हिसावमा समेत ती ठाउँ चर्चित छ । त्यसैगरी प्रख्यात हलेसी महादेवको मन्दिर, रौता पोखरी, कंकालीमाई, छिन्नमस्ता र चौदण्डीगढी दरबार विशेष धार्मिक पर्यटकीयस्थल मानिन्छन् । यी सबै स्थानमा घुमेर बास बस्न बेल्टार उपयुक्त र ‘केन्द्र’ भागमा पर्छ । त्यसले पनि यो होटलको उज्वल भबिष्यको संभावना उजगार गर्छ ।

उक्त होटलमा एयर कन्डिसनयुक्त रुमहरु रहेका छन् । त्यस्तै आइसक्रिम पार्लर, इभी चार्जिङ स्टेशन देखि थुप्रै सुविधाहरु रहने छन् । विवाह, ब्रतबन्ध, जन्मदिन, गोष्ठी गर्ने सुविधाका साथै पर्याप्त पार्किङ सहितको सुविधाहरु रहनेछ ।

ग्राहकका ईभी गाडीलाई लक्षित सीजीको ‘फाष्ट चार्जिङ्ग स्टेशन’ होटल परिसरमै जडान रहेको छ । उक्त चार्जिङ्ग स्टेशनबाट एकसाथ ४ वटा गाडी चार्ज गर्न सकिने छ । होटल परिसरमै काठमाडौं उपत्यकाकै सबैभन्दा चलेको र उत्कृष्ट आइसक्रिमको ब्राण्ड पार्कीलाई विक्री विरतणको व्यवस्था मिलाइएको छ । उक्त ‘आइसक्रिम पार्लर’बाट विभिन्न ३० भन्दा बढी प्रकार र स्वादमा आइक्रिम उपलब्ध हुनेछन् । ग्राहकको आवश्यकता अनुसार समयानुकुलको सेवाहरु थप गर्दै लगिने उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij