ई-आर्थिक, पोखरा । हिमालयन एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासासम्मको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु गर्ने घोषणा गरेको छ।
एयरलाइन्सले आफ्नो फेसबुक पेजमार्फत् नेपालको पर्यटन राजधानीलाई विश्वको छाना ल्हासासँग जोड्न लागिएको जनाएको छ । उसले भनेको छ, ‘यसै मार्चदेखि साप्ताहिक उडान शुरु हुँदैछ । हिमालय एयरलाइन्ससँग उड्न तयार हुनुहोस् । अपडेटका लागि प्रतीक्षा गर्नुहोस् ।’
एयरलाइन्सले आफ्नो आगामी मार्चदेखि साप्ताहिक उडान सुरु गर्ने जानकारी दिएको छ, जसले पोखरालाई ल्हासा जस्तो महत्त्वपूर्ण गन्तव्यसँग जोड्नेछ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यो कदमलाई पोखरा र नेपालका लागि ऐतिहासिक उपलब्धि मान्दै यसलाई पर्यटन प्रवद्र्धनका लागि एक महत्त्वपूर्ण अवसरका रूपमा लिएका छन्। यस कदमले नेपाल र चीनबीचको पर्यटन सम्बन्धलाई सुदृढ गर्दै, पोखरा भ्रमण वर्ष २०२५ सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।