ई-आर्थिक, काठमाडौं । बाक्लो हुस्सु लागेका कारण ‘भिजीबिलिटी’ कम हुँदा आज बिहानैदेखि नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित छ । बिहानैदेखि चलेको शीतलहर तथा हुस्सुका कारण ५० मिटरमात्र भिजीबिलिटी हुँदा नेपालगञ्ज विमानस्थलबाट हुने सबै उडान ठप्प रहेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।
हवाई उडानका लागि आवश्यक पर्ने भिजिबिलिटी नहुँदा आज विमानस्थलमा उडान हुन नसकेको विमानस्जाथलले जानकारी दियो । नेपालगञ्ज विमानस्थलबाट पहाडी जिल्ला, सङ्घीय राजधानी काठमाडौँ, धनगढी र पोखराका लागि दैनिक करिब ५० भन्दा बढी उडान हुने गरेको छ ।
जहाज उडाउन एक हजार भिजीबिलिटी हुनुपर्ने र जहाज अवतरण गर्नका लागि एक हजार छ सय भिजीबिलिटी आवश्यक पर्दछ । नेपालगञ्ज विमानस्थलबाट हुने उडान अवरुद्ध हुँदा काठमाडौँ र पहाडी जिल्लामा यात्रा गर्न जाने यात्री प्रतिक्षामा विमानस्थलमा बसिरहेका छन् । शीतलहरले यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
नागरिक उड्डयन कार्यालय नेपालगञ्जका अनुसार मौसममा सुधार हुनासाथ उडान सुचारु हुने छ । बिहान ११ बजेसम्म कुनै पनि उडान भएका छैनन । सोमबार पनि दिउँसो ३ बजेसम्म विमानस्थल बन्द थियो ।