२०८३ साउन ११ सोमबार

मुग्लिन-मलेखु सडक स्तरोन्नतीका क्रममा सवारी सञ्चालन नरोकिने

ई आर्थिक    बिहिबार, पौस २५ २०८१
3K
Shares
मुग्लिन-मलेखु सडक स्तरोन्नतीका क्रममा सवारी सञ्चालन नरोकिने

ई-आर्थिक, चितवन । मुग्लिन-मलेखु सडक स्तरोन्नतीका क्रममा सवारी सञ्चालन नरोकिने भएको छ। गतहप्ता दिउँसोमा सवारी साधन रोकेर स्तारोन्नतिका काम गरिएका थियो। नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का ई विजय दराइका अनुसार यही पुस ७ गतेदेखि १३ गतेसम्म सवारी रोकेर काम गरिएको भए पनि अहिले सवारी सञ्चालन गरेरै धमाधम काम गरिएको हो।

सो समयमा दिउँसो ११ बजेदेखि २ बजेसम्म सवारी रोकेर सडकको विशालटार, खटौटीलगायतका क्षेत्रमा भित्तो काट्ने काम गरिएको थियो। उनले भने, ‘अहिले सवारी नरोकेरै हामीले काम गरिरहेका छौँ।’

निर्माण कम्पनीले सन् २०२२ को डिसेम्बरबाट काम सुरु गरेको हो। तीन वर्षभित्रमा काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो। अहिलेसम्म २० प्रतिशतमात्र काम भएको जनाइएको छ। भित्तो काट्ने र नदीतर्फ पर्खाल लगाउने काम भइरहेको छ। कुरिनटार क्षेत्रमा कालोपत्रेका लागि बेस र सबबेसको काम भइरहेको छ।

मुग्लिनबाट मलेखुसम्म ३९ किलोमिटर सडक यस खण्डमा विस्तारको काम भइरहेको हो। निकै साँघुरा र भित्तो काट्न एवं पर्खाल उठाउन कठिन ठाउँमा दुई लेन अर्थात नौ मिटर फराकिलो सडक बनाइँदै छ। उकालो ठाउँहरुमा तीन लेन अर्थात १२ मिटरको हुनेछ। झण्डै एक दशमलब ५ किलोमिटर सडक यस्तो ठाउँमा पर्दछ।

बजार क्षेत्र कुरिनटार, चरौदी, बिशालटार, चुम्लिङ्टार, मझिमटारलगायतका करिब ६ किलोमिटर क्षेत्रमा चार लेन अर्थात १८ मिटर फराकिलो सडक बनाइँदै छ। मुग्लिन, बेनिघाट र मलेखु बजारमा छ लेन अर्थात २६ मिटर फराकिलो सडक बनाइँदै छ। एक किलोमिटरभन्दा बढी क्षेत्रमा फराकिलो सडक बनाउन लागिएको हो। पृथ्वी राजमार्गमा पर्ने नागढुंगा-मुग्लिन सडक खण्डलाई दुई भागमा बिभाजन गरेर स्तरोन्नतीको काम गरिएको हो।

बिश्व बैंकको सहयोगमा सडक निर्माण थालिएको हो। निर्माण कम्पनीले चार अर्ब ८० करोड रूपैयाँमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ। संघीय राजधानी बाहिरिने र प्रवेश गर्ने प्रमुख सडक भएकाले उच्च सवारी चाप रहेको छ। समयमा काम नहुँदा सो सडक हुँदै यात्रा गर्ने यात्रुले कठिनाइ भोग्नु परेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij