ई–आर्थिक, काठमाडौं । नेकपा एमाले नेता सर्वेन्द्र खनालले एमाले पार्टी छाडेका छन् । नेपाल प्रहरीका पूर्वप्रमुख समेत रहेका खनालले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कुनै पनि दलसँग आवद्ध नरहेको स्पष्ट पार्दै एमाले छोडेका हुन् ।
उनले लेखेका छन्, ‘हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन । म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधैँ सक्दो कार्यहरू गरिरहने छु।’
खनाललाई ५ असोज २०७९ मा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका थिए । खनालको यो घोषणा एमालेले भीम रावललाई पार्टीबाट निष्कासन गरेपछि आएको हो । नेता रावललाई एमालेले यहीँ पुस दश गतेबाट पार्टी सदस्य नरहनेगरी कारबाही गरेको थियो। त्यसपछि रावलले नयाँ दल खोल्ने चर्चा भइरहेको थियो ।
तर रावल अहिले ‘मातृभूमि जागरण अभियान’ घोषणा गरेर देश दौडाहमा छन्। यसबीच खनाल पनि रावलको अभियानमा जोडिने चर्चा हुन थालेको छ । यसअघि भीम रावलले पनि पूर्व सुरक्षा प्रमुखहरू जोडिने संकेत दिएका थिए ।