ई-आर्थिक,काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि थप ५० अर्ब रूपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। गत बुधबार पनि केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिचेको थियो ।
राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरी तरलता खिच्न लागेको हो। बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो।
पुस १७ गते मात्र ४० अर्ब तानेको राष्ट्र बैंकले पुनः २१ लागि ५० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो। बैंकले छोटो अवधिमा लगातार रुपमा बजारबाट पैसा उठाउन लागेको हो।
बैंकले विभिन्न विशेषता एवं सर्तहरु कायम गरी १२ दिनको लागि निक्षेप संकलनको बोलकबोल तथा निष्कासन गर्ने भएको हो। निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी माघ १३ गते हुने बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुनेछ।
बजारमा रहेको कुल तरलतामध्ये केन्द्रीय बैंकले निक्षेप संकलनमार्फत् २ खर्ब १९ अर्ब रुपैयाँ र स्थायी निक्षेप सुविधाअन्तर्गत १ खर्ब ८ अर्ब रुपैयाँ गरी कुल ३ खर्ब २७ अर्ब रुपैयाँ वित्तीय क्षेत्रबाट खिचेर राखेको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले अधिक तरलताको ३ खर्ब ३५ अर्ब ७० करोड रुपैयाँ राष्ट्र बैंकमा राखेका छन् । बैंकहरुले निक्षेप संकलन उपकरणमा २ खर्ब २७ अर्ब ४० करोठ तथा स्थायी निक्षेप सुविधा (एसडीएफ) मा १ खर्ब ८ अर्ब ३० करोड रुपैयाँ राखेका छन् ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हाल वित्तीय प्रणालीको निक्षेप ६६ खर्ब ७८ अर्ब नाघेको छ भने ५३ खर्ब ६३ अर्ब कर्जा लगानी पुगेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ७९.०१ प्रतिशत कायम रहेको छ । बैंकहरुले यस्तो अनुपात ९० प्रतिशतसम्म कायम गरेर लगानी गर्न पाउँछन् ।
बैंकहरुको हालको सीडी रेसियो हेर्दा बैंकहरुमा ६ खर्ब ४७ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको देखिन्छ ।