ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ४० अर्ब रूपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। बुधबार पनि केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको हो । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी ४० अर्ब खिच्न लागेको हो।
राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरी तरलता खिच्न लागेको हो।
अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ।
राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरी तरलता खिच्न लागेको हो।
राष्ट्र बैंकमा निक्षेप राख्न चाहने बैंकहरुले पुस १७ गते दिउसो २ बजेसम्ममा आवेदन गर्न सक्ने छन्। बैंकहरुले न्यूनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्ने छन्।
यसको साँवा तथा ब्याज भुक्तानी माघ ९ गते गरिने केन्द्रिय बैंकले जनाएको छ। सबैभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने बैंकको आवेदन पहिलो प्राथमिकतामा पर्नेछ।
अहिले पनि बैंकहरुले खासै कर्जा लगानी गर्न सकेका छैनन् जसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको छ। प्रणालीमा तरलता सन्तुलन राख्न केन्द्रीय बैंकले निरन्तर तरलता खिच्नुपरेको छ।
मंगलबारसम्मको तथ्यांकअनुसार बजारमा ८३ अर्ब रुपैयाँ अधिक तरलता छ ।
बजारमा रहेको कुल तरलतामध्ये केन्द्रीय बैंकले निक्षेप संकलनमार्फत् २ खर्ब १९ अर्ब रुपैयाँ र स्थायी निक्षेप सुविधाअन्तर्गत १ खर्ब ८ अर्ब रुपैयाँ गरी कुल ३ खर्ब २७ अर्ब रुपैयाँ वित्तीय क्षेत्रबाट खिचेर राखेको छ ।