ई-आर्थिक, कास्की । सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहित सबै प्रतिवादीको बयान मंगलबार सकिएको छ । बयान सकिएसंगै आज कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादीहरूको बयान सकिएपछि थुनछेक बहस सुरु भएको छ ।
‘सबै प्रतिवादीहरूको बयान मंगलबार सकिएको हो । मंगलबारदेखि नै सुरु भएको थुनछेक बहस दुई-चार दिन जान लम्बिन सक्छ । प्रतिवादीहरू धेरै भएकाले बहस लम्बिने सम्भावना रहेको देखिन्छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ । लामिछानेसहित आरोपीहरूमा पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङ छन् ।
लामिछानेलाई सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना, सहकारी ठगीमा चारदेखि छ वर्षसम्म कैद र सङ्गठित अपराधमा थप ५० प्रतिशत सजाय हुनुपर्ने अभियोगपत्रमा उल्लेख छ ।
उनीसँग सहकारी ठगीअन्तर्गत सामूहिक बिगो एक करोड ६२ लाख ६५ हजार, व्यक्तिगत बिगो एक करोड ७५ लाखसहित सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ बिगो कायम गरी अभियोगपत्र दर्ता भएको छ ।