२०८३ साउन ११ सोमबार

‘चीनसँग ऋणको विषयमा कुनै छलफल भएन’: प्रधानमन्त्री ओली

ई आर्थिक    बिहिबार, मंसिर २० २०८१
2.5K
Shares
‘चीनसँग ऋणको विषयमा कुनै छलफल भएन’: प्रधानमन्त्री ओली

ई-आर्थिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका छन् ।  प्रधानमन्त्री ओलीले चीन भ्रमणका विषयमा जानकारी दिदै, चीनसँग ऋणको विषयमा कुनै छलफल नै नभएको प्रस्ट पारेका छन् ।

चीनको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको थियो  । एड असिन्टेन्स फाइनासिङ मोडलिङमा भएको उक्त सम्झौतामा १० वटा परियोजना समेटिएका छन् ।

सोही विषयमा प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री ओलीले भने, ‘ऋणको विषयमा कुनै छलफल भएन । हामीले जे प्राप्त गरेका छौँ त्यो ऋण होइन ।  ऋणको कुरा चलेकै छैन । किन ऋण ऋण भनेर सारंगी बजेको छ ? मैले बुझ्न सकेको छैन ।’

उनी चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेइजिङ गएका थिए ।

त्यस अवसरमा  नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उहाँका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबिच विभिन्न समझदारी भएका छन् । दुवै देशका प्रधानमन्त्रीबिच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनलाई विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक लगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले विमानस्थलमा गार्ड अफ अनर प्रदान गरेको थियो । यसैबिच प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिउका  छन् । यसबारे चिनियाँ प्रधानमन्त्रीबाट सकारात्मक बचन प्राप्त भएको जनाइएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij