ई-आर्थिक, काठमाडौं । सामाजिक सञ्जालमा भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईँलाई सीआईबीले तीनवटा अभियोगमा अनुसन्धान गर्दै छ ।
प्रसाईँलाई सीआईबीले साइबर अपराध, कागजात कीर्ते र मानहानीको कसुरमा अनुसन्धान अघि बढाएर मुद्दा चलाउने तयारी गरेको हो ।
आज उनलाई सीआईबीको टोलीले भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । उनलाई कानुनी दायरामा ल्याइएको सीआईबीले पुष्टि गरेको छ ।
सीआईबी प्रवक्ता एवम् एसपी होविन्द्र बोगटी ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको भेटिएपछि प्रसाईंलाई पक्राउ गरिएको बताए ।
उनलाई थप अनुसन्धान गर्ने सीआईबीको भनाई छ । सामाजिक सन्जालमार्फत् उनले अफवाह फैलाइरहेको सीआईवीको आरोप छ । त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका सीआईबीको बतायो ।
उनले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका ठूला राजनीतिक दल विरुद्ध भ्रामक प्रचार–प्रसार गरिरहेको आरोप छ । त्यस्तै उनी गणतन्त्रको विरोध गर्दै राजतन्त्र फर्काउने अभियान पनि चलाउँदै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेकाे आराेपमा उनलाई पक्राउ गरिएकाे बतायो ।
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा साढे ३२ अर्ब रूपैयाँभन्दा बढी लगानी रहेको भनेर उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
मेडिकल व्यवसायी प्रसाई यसअघि पनि पक्राउ परेका थिए ।