२०८३ साउन १२ मंगलबार

जलवायु परिवर्तनको असर न्यूनीकरणमा साझेदारी गर्न बंगलादेशलाई नेपालको आग्रह

ई आर्थिक    सोमबार, मंसिर ३ २०८१
3K
Shares
जलवायु परिवर्तनको असर न्यूनीकरणमा साझेदारी गर्न बंगलादेशलाई नेपालको आग्रह

बाकु (अजरबैजान) । जलवायु परिवर्तन न्यूनीकरणका लागि साझेदारी गरेर अगाडि बढ्नका लागि नेपालले बङ्गादेशलाई आग्रह गरेको छ ।

अरजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको सम्मेलन कोप–२९ मा भाग लिन अजरबैजान आउनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र बङ्गादेशका पर्यावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री  स्येदा रिजवाना हसनबिच आज भएको द्वपक्षीय भेटमा जलवायु परिवर्तनको  मुद्दालाई साझा एजेण्डा बनाउन जोड दिइएको हो ।

नेपालले बङ्गलादेशलाई जलविद्युत् निर्यात गर्न सुरु गरेको उल्लेख गर्दै मन्त्री शाहीले जलविद्युत् सफा ऊर्जा भएकाले, जलवायु परिवर्तन न्यूनीकणको सन्दर्भमा महत्त्वपूर्ण रहेको बताए । उनका अनुसार नेपालमा ऊर्जासम्बन्धी जिम्मेवारी ऊर्जा, जल स्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत भए पनि, जलवायु परिवर्तनको सन्दर्भमा महत्त्वपूर्ण हुने भएकाले, बङ्गलादेशले स्वच्छ ऊर्जा आयातलाई प्राथमिकतामा राखेको विषय महत्त्वपूर्ण रहेको बताए ।

“भविष्यमा हाम्रो ऊर्जासम्बन्धी सहकार्यलाई थप उचाइमा पुर्‍याउन अग्रसर रहन चाहन्छौँ । बङ्गलादेश र नेपालबिच जलवायु परिवर्तनको विषयमा धेरै समानता भएकाले यस विषयमा दुई देशबिच सहकार्यको ठूलो महत्त्व छ,” मन्त्री शाहीले भने– “सन् २०२६ को अन्त्यमा हाम्रा दुवै राष्ट्रहरु अति कम विकसित मुलुकको स्तरबाट अघि बढ्ने भएकाले त्यस बेलाका लागि पनि यो सहकार्य अझ महत्त्वपूर्ण हुनेछ ।”

जलवायु परिवर्तन वार्तामा तीन देश (बङ्गलादेश, भुटान र नेपाल)बिचको सहकार्यको पहललाई अगाडि बढाउन तथा प्राविधिक टोलीलाई त्यसको तयारीका लागि अघि बढ्न र छिट्टै मन्त्रीस्तरीय बैठकको समय तय गर्न मन्त्री शाहीले आह्वान समेत गरे ।

“हाम्रो दुई देशका वार्ता टोली लामो समयदेखि सहकार्य गर्दै आउनुभएको छ । यहाँ बाकुमा पनि यसलाई निरन्तरता दिइएको छ । हाम्रा लागि जलवायु विपदसँग जुध्न जलवायु वित्तको आवश्यकता र तापमान वृद्धिलाई १.५ डिग्री सेलसियसमा सीमित गर्ने विषय महत्त्वपूर्ण छन्”, मन्त्री शाहीले भने ।

बाकु सम्मेलनले यी महत्त्वपूर्ण विषयमा निर्णय गर्दै, विशेष गरी जलवायु वित्तका सन्दर्भमा निष्कर्षमा पुग्ने मन्त्री शाहीले विश्वास व्यक्त गर्नुभयो । कोप–२९ को भेटघाट महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले नेपाल र बङ्गलादेशबिच द्वीपक्षीय सम्बन्ध तथा सहकार्य आगामी दिनमा झन प्रगाढ हुने विश्वास व्यक्त गरे ।

भेटमा बङ्गलादेशका मन्त्री हसनले नेपालसँगको ऊर्जा व्यापार सम्झौताका लागि सहकार्यको प्रशंसा गर्दै भविष्यमा यसलाई निरन्तरता दिँदै जाने आशा व्यक्त गरे । “यसले बङ्गलादेशलाई ऊर्जा क्षेत्रमा जीवाश्म इन्धनको प्रयोगलाई प्रतिस्थापन गर्दै स्वच्छ जलविद्युत् ऊर्जा प्रयोग गर्न मद्दत गर्नेछ । जलवायु परिवर्तन वार्तामा तथा साझा प्राथमिकतामा सहकार्य जरुरी छ,” उनले भने, “नेपाल, भूटान र बङ्गलादेशबीच समन्वयको आवश्यकता छ । हाम्रा साझा प्राथमिकतामा जलवायु वित्तको मुद्दा राख्नुपर्ने र तापक्रम १.५ भन्दा तल सीमित गर्नुपर्ने विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्ने छ ।”

दक्षिण एशियामा जलवायुजन्य हानि नोक्सानीसम्बन्धी वार्तालाई क्षेत्रीयस्तरमा अघि बढाउने विषयमा समेत छलफल भएको छ । बङ्गलादेश, भूटान र नेपालबिच मन्त्रीस्तरीय बैठक जति सक्दो चाँडो बङ्गलादेशमा आयोजना गर्ने सहमति भएको छ । बैठकको समय भने पछि तय गरिने छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij