ई-आर्थिक, काठमाडौं । निर्वाचन आयोगद्वारा उपनिर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ । आयोगले मंसीर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचन, २०८१ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न आयोगबाट मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश एवम् जिल्ला निर्वाचन अधिकारीहरुसँग अभिमुखीकरण सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको जनाएको छ ।
आयोगको कार्यालय, कान्तिपथ काठमाडौमा भौतिक उपस्थिति र अनलाईन उपस्थिति सञ्चालित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाले उपनिर्वाचनका सन्दर्भमा हालसम्म सम्पन्न गरेका तथा आगामी दिनमा सम्पन्न गर्नुपर्ने कार्यहरुबारे संक्षिप्त प्रकाश पार्दै आ(आफ्नो काम, कर्तव्य र अधिकार प्रति सवै सचेत र प्रतिबद्ध रहनुपर्ने बताए ।
त्यसैगरी निर्वाचन आयुक्त श्री सगुन समसेर जबराले निर्वाचन आयोगको संवैधानिक दायित्व समेतलाई मध्यनजर गरी उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन अन्तरक्रियाले सबैलाई मद्दत पुगेको र सोही अनुसार व्यवस्थापन र कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने कुरामा जोड दिए।
अन्तरक्रिया कार्यक्रममा उपनिर्वाचन सम्बन्धी संवैधानिक एवम् कानूनी व्यवस्था, जनशक्ति, सामग्री, आर्थिक, सुरक्षा र सूचना प्रविधिको व्यवस्थापन, मतदान, मतगणना, आयोगको अपेक्षा र धारणा लगायतका विषयमा आयोगका प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्त, सचिव र सहसचिवहरूबाट सहजीकरण तथा अन्तरक्रिया गरिएको थियो ।
उक्त कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, निर्वाचन आयुक्त सगुन समसेर जबरा, सचिव रविलाल पन्थ, मुख्य निर्वाचन अधिकृतहरू, निर्वाचन अधिकृतहरु, आयोगका सहसचिवहरु र प्रदेश तथा जिल्ला निर्वाचन अधिकारीहरु लगायतको सहभागिता रहेको थियो।