२०८३ साउन ९ शनिबार

हस्तकला ब्यापार मेला तथा प्रतियोगिता हुँदै, के–के छ आकर्षण ?

ई आर्थिक    मंगलबार, कार्तिक २७ २०८१
3.6K
Shares
हस्तकला ब्यापार मेला तथा प्रतियोगिता हुँदै, के–के छ आकर्षण ?

ई–आर्थिक, काठमाडौं । नेपाल हस्तकला महासंघले यही मंसिर २० देखि २४ गतेसम्म काठमाडौंमा २१औं हस्तकला व्यापार मेला तथा १९औं हस्तकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।

उद्यमी, कलाकार, कालिगढहरूबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सहयोग पुर्‍याउने, नयाँ नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको चाहना अनुरूप वस्तु डिजाइन र रंग संयोजनका बारेमा उद्यमी व्यवसायीहरूमा जानकारी आदानप्रदान गर्ने, स्वदेशी तथा विदेशी क्रेता तथा विक्रेताबीच एक आपसमा शीप, प्रविधि, डिजाइन र ज्ञानको आदानप्रदान गर्ने उद्देश्यले उक्त मेला आयोजना गरिन लागिएको महासङ्घले जनाएको छ ।

महासंघका अनुसार मेलामा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा हुने मेला काठमाडौंको बौद्धस्थित होटेल हायात ग्राउन्डमा आयोजना गरिने भएको छ ।

मेलामा हस्तकलाका वस्तुहरूको करीब १५० ओटा स्टलहरू रहने छन् । मेलामा विदेशी प्रदर्शनीकर्ता रूपमा भारत, चीन, पाकिस्तान, बङ्गलादेशका व्यापारीहरूको समेत सहभागिता रहने बताइएको छ । मेलामा महासंघका सदस्यहरू तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरू, जिल्ला हस्तकला संघहरू र वस्तुगत संघहरू समेतको सहभागिता रहने छ ।

मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानहरू लगायत अन्य हस्तकलाका सामग्रीहरू प्रर्दशनी तथा विक्रीमा राखिने छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकीकृत व्यापार रणनीति कार्यक्रम भित्र समावेश हस्तकलाका वस्तुहरूलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम छ । त्यसैगरी मेलामा समाजमा पछाडि परेका वर्ग र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क स्टल प्रदान गरिने छ ।

मेलाको प्रमुख आर्कषणको रूपमा रहेको १९औं संस्करणको हस्तकला प्रतियोगिता (जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी)अन्तर्गत परम्परागत विधातर्फ लोपोन्मुख अवस्थामा रहेको बुट्टेनली र समसामयिक विधातर्फ गलैंचा बुनाइमा प्रतियोगिता हुनेछ । सो प्रतियोगितामा प्रतिविधा न्यूनतम १५ जनाको सहभागिता रहने अपेक्षा छ ।

साथै प्रतियोगितामा प्रत्येक विधामा उत्कृष्ट घोषित ३ जना कलाकारहरूलाई नगद पुरस्कार प्रदान गरिने छ, जसमा प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार दिइनेछ । प्रतियोगितामा सहभागी सम्पूर्ण कलाकारहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिने छ । साथै मेलाको अवसरमा आर्थिक वर्ष २०८०/८१ को लागि नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनमा क्रियाशील भई विशेष योगदान पुर्‍याउने उत्कृष्ट उद्यमी, उत्कृष्ट निकासीकर्ता, कार्गो कम्पनी र उत्कृष्ट कलाकारलाई सम्मान गरिने छ ।

मेलाकै सन्दर्भमा हस्तकलाका विविध विधामा संलग्न कलाकारहरूको प्रतिभा पहिचान गराउने र कलाकारहरूको व्यापार व्यवसायलाई प्रवर्द्धन गराउने उद्देश्यले कला प्रदर्शनी २०८१ आयोजना गरिने भएको छ ।

त्यसैगरी मेलामा विदेशस्थित नेपाली राजदूतावासको स्वरुप कस्तो हुनुपर्छ भन्नेबारे नमूना प्रदर्शन गरिने छ ।

व्यापार मेलाको उद्देश्यहरू :

नेपाली हस्तकला वस्तुहरूको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रवर्द्धन, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रवर्द्धन गर्ने ।
नेपाली उद्यमी, व्यवसायी र विदेशी हस्तकला आयातकर्ता बीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई हस्तकला वस्तुको बजारीकरणमा सहयोग पुर्‍याउने ।
नवोदित उद्यमी व्यवसायीलाई बजार पहुँचको अवसर प्रदान गर्ने ।
हस्तकला र नेपाली संस्कृतिबीचको अन्तर सम्बन्धलाई जनमानसमा उजागर गर्ने ।
विदेशी क्रेताहरूलाई हस्तकला वस्तुहरू एकै स्थानबाट खरीद गर्ने अवसर प्रदान गर्ने ।
आयात र निर्यात बीचको दुरी घटाई व्यापार घाटा न्यूनीकरण गर्न सहयोग पुर्‍याउने ।
नेपालमा एउटै मितिमा अन्तर्राष्ट्रियस्तरको हस्तकला व्यापार मेला आयोजना हुन्छ भन्ने सन्देश स्वदेही, विदेशी क्रेता तथा स्वदेशी खरीदकर्ताहरूमा प्रवाह गर्ने ।

ब्यापार मेलाका आकर्षणहरू :

एकै छानामुनि हस्तकला वस्तुहरूको बृहत् प्रदर्शनी तथा विक्री
१९औं हस्तकला प्रतियोगिता
परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त शीप प्रदर्शनी
अमूर्त साँस्कृतिक सम्पदाको उजागर
क्रेता विक्रेता भेला
समसामयिक विषयमा गोष्ठी तथा सेमिनार
जेष्ठ तथा वरिष्ठ कलाकारहरूलाई सम्मान
कला प्रदर्शनी
अग्रणी निर्यातकर्ताहरू र कार्गो कम्पनीहरूलाई सम्मान

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij