२०८३ साउन १० आइतबार

मादलले बजार पाएपछि जुठे बादी प्रसन्न

ई आर्थिक    शनिबार, कार्तिक १७ २०८१
4.3K
Shares
मादलले बजार पाएपछि जुठे बादी प्रसन्न

घोराही, दाङ : घोराही उपमहानगरपालिका-१४ झिंगेगौराका जुठे बादीलाई हिजोआज मादल बनाएर बिक्री गर्न भ्याईनभ्याई छ। उनी यस वर्षको दसैंँ र तिहारको हालसम्म नयाँ मादल बिक्री र पुराना मादलको मर्मत गरी डेढ लाख रूपैयाँ बढी आम्दानी गरेको बताउँछन्।

पछिल्लो समय नयाँ मादल खरिद गर्ने भन्दा पुराना मादल खरिदका लागि आउने गरेको उनले सुनाए। “पुराना मादल मर्मत गर्दा कम समयमा पनि राम्रो आम्दानी हुने गर्दछ। अरू बेला सुनसान हुने हाम्रो व्यवसाय दसैं–तिहारको अवसरमा बढोत्तरी हुन्छ। दसैँमा नाच्ने र तिहारमा देउसी–भैलो खेल्न मादलको माग बढी हुने गरेको छ। जसले गर्दा राम्रो आम्दानी हुन्छ”, बादीले भने।

आम्दानी मात्र होइन आफ्नो पुस्ताले यो पेसा नै संरक्षण गरिरहेको उनको भनाइ छ। “पछिल्लो समय मादल बनाउन जानेको मानिस पाउन समस्या छ। मैले सानैमा बुबा–बाजेबाट मादल, बाँसुरी र ढोलक बनाउन सिके, त्यही सीपले अहिले दैनिकी चलाइरहेको छु”, बादी भन्छन्,“तर अहिलेको पुस्तामा मादल बनाउने सीप छैन। न आकर्षण छ।”

घोराहीमा ५० वर्षदेखि निरन्तर मादल बनाउने र बिक्री गरेर आयआर्जन भइरहेको बताउने उनी यही कर्मले घरपरिवारको सम्पूर्ण गर्जो टार्ने काम भइरहेको छ भन्छन्। “हाम्रो अरू पेसा सङ्कटमा पर्‍यो। समय बदलिँदै जाँदा यो पेसा पनि विस्तारै हराउला तर पनि त्यो सीप भएकाले हाल हातमुख जोर्न सहज भएको छ। योभन्दा अरू सीप पनि छैन। उमेरले साथ दिएसम्म आफ्नो पेसा छोड्ने मन छैन”, उनको कथन छ।

मादल बनाउने मानिसको अभावसँगै पछिल्लो समय मादल बनाउन आवश्यक काठ, छाला र खरी लगायत सामग्री पाउनै समस्या भएको जुठे बादीले समस्या सुनाए। “चाडपर्वको समय छ। नयाँ मादल किन्न तथा पुराना मादल मर्मतका लागि आजभोलि दैनिक १५/२० मानिस आउँछन् तर एक्लै भएकाले काम गर्न समस्या छ। त्यसैमा आवश्यक सामाग्री पनि सजिलै पाइँदैनन्। त्यसैले योबेला माग अनुसार काम गर्न कठिन छ”, उनी भन्छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij