२०८३ साउन ९ शनिबार

चितवनलाई आधार मानेर अण्डाको मूल्य वृद्धि, किसानले लागत मूल्यनजिक बिक्री गर्न पाउँदै

ई आर्थिक    सोमबार, कार्तिक १२ २०८१
6.1K
Shares
चितवनलाई आधार मानेर अण्डाको मूल्य वृद्धि, किसानले लागत मूल्यनजिक बिक्री गर्न पाउँदै

चितवन । गत भदौ पहिलो सातादेखि अण्डाको मूल्य घटेपछि निराश बनेका किसान मूल्य वृद्धि हुन थालेसँगै उत्साहित बनेका छन् । किसानले लागत मूल्यनजिक बिक्री गर्न पाएका छन् ।

नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलकाअनुसार सोमबारदेखि लागू हुनेगरी चितवनलाई आधार मानेर ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) पाँचसय, मध्यम चारसय ८५ र ‘एक्सएल’ पाँचसय १५ कायम गरिएको छ । यसअघि गत साउन मसान्तमा यही दररेटमा अण्डा बिक्री भएकामा क्रमशः घटेर ठुलो अण्डा तीनसय ६०, मध्यम तीनसय र एक्सएल तीनसय ७५ मा झरेको थियो ।

विगत दुई साता यता क्रमशः मूल्य बढ्न थालेको अध्यक्ष पोखरेलले बताउनुभयो । लागत मूल्य प्रतिगोटा १६ रुपियाँ ५६ पैसा रहेको छ । पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेपछि पूर्ववत् अवस्थामा अण्डाको मूल्य आएको बताउनुभयो । भदौ पहिलो साता दैनिक ३० लाख हाराहारी अण्डा उत्पादन हुने गरेकामा यो सङ्ख्या घटेर २२ लाख हाराहारीमा झरेको छ । उहाँको भनाइमा नोक्सान थपिँदै गएपछि धेरै किसान विस्थापित भएका छन् ।

उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्षसमेत रहनुभएका कुखुरापालक किसान त्रिलोचन कँडेल किसानले पालेका अण्डा उत्पादन हुने कुखुराहरु बिक्री भएको र नयाँ चल्ला हुर्किन नसक्दा उत्पादन घटेको बताउनुहुन्छ । कँडेलले ७५ प्रतिशत किसान विस्थापित भइसकेको उल्लेख गर्दै केही किसान फेरि व्यवसायमा फर्किएको बताउनुभयो । लागत मूल्यभन्दा कममा अण्डा बिक्री गर्नुपर्ने अवस्था आएमा बाँकी किसान पनि विस्थापित हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij