ई–आर्थिक, काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसममा आएको खराबीका कारण भोलि बिहानसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको छ । निरन्तरको वर्षाका कारण भिजिबिलिटी कमजोर हुने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भोलि विहानसम्म आन्तरिकतर्फका सबै उडान स्थगित गरिएको हो ।
आज साँझदेखि भोलि विहान ६ बजेसम्मका लागि उडान स्थगित गरिएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो ।
विगत १५ घण्टायता निरन्तरको वर्षाका कारण मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् ।
आन्तरिकतर्फ अधिकांश विमानस्थलमा उडान हुन सकेन भने अन्तर्राष्ट्रिय उडानतर्फ केही विमान लामोसमय होल्ड भएर अवतरण गरेका थिए । क्यानका अनुसार हाल आन्तरिकतर्फ विहान ६ बजेदेखि राति १० बजेसम्म उडान हुँदै आएको छ ।