२०८३ साउन १२ मंगलबार

धनगढी उपमहानगरमा नगर बस सञ्चालन

ई आर्थिक    आइतबार, भाद्र ३० २०८१
7.8K
Shares
धनगढी उपमहानगरमा नगर बस सञ्चालन

धनगढी । धनगढी उपमहानगरपालिकाले नगर बस सेवाको सञ्चालनमा ल्याएको छ। आइतबार धनगढी उपमहानगरपालिका–१९ को फुलबारी बसपार्कमा औपचारिक कार्यक्रम आयोजना गरेर उपमहानगरपालिकाले नगर बस सेवा सञ्‍चालनमा ल्याएको हो ।

नगर उपप्रमुख कन्दकला रानाले हरियो रंगको झन्डा देखाएर नगर बस सेवाको विधिवत् रुपमा उद्घाटन गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले फुलबारी सहितका ग्रामीण बस्तीबाट सहज र सुलभ यातायात सेवा सञ्चालन नहुँदा आम नागरिकले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै नगर बस सेवा सञ्चालनमा ल्याइएको हमालले बताए ।

विद्युतीय बस सेवा सञ्चालन गर्ने उद्देश्य सहित फुलबारी बसपार्कमा चार्जिङ स्टेशन स्थापना गरिएको तर विभिन्न कारणले विद्युतीय बस सेवा सञ्चालन गर्न नसकिएको उनको भनाइ छ ।

तत्कालीन समयमा आफूले दिनेश ट्राभल्स सञ्चालन गरेका बेला फुलबारीका नागरिक बस चलाउन माग गर्दै डेलिकेशन गरेको कुरा स्मरण गर्दै नगर प्रमुख हमालले नगर बस सेवाले उक्त अभाव पूर्ति गर्ने विश्वास व्यक्त गरेका छन् ।

उपमहानगरपालिकासँग भएको स्रोत, साधन र क्षमता अनुसार नगरवासीका विभिन्न अभाव पूर्ति गर्ने प्रयास गरिने उनको भनाइ थियो । नगर बस सेवापछि फुलबारीका नागरिकलाई घर, आँगनमै स्वास्थ्य प्रदान गर्ने उद्देश्यले अस्पताल निर्माण गर्ने योजना उपमहानगरपालिकाको रहेको बताउँदै हमालले त्यसमा सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालन गर्न दुई करोड ४८ लाखमा ६ वटा बस खरिद गरेको छ । सेवा सञ्चालन गर्न उपमहानगरपालिकाले केएनके कन्स्ट्रक्सनसँग भ्याटसहित २८ लाख ८८ हजारमा ठेक्का सम्झौता गरेको छ ।

असोज १ गतेदेखि लागू हुने गरी २०९१ भदौ मसान्तसम्म गरेर १० वर्षका लागि ठेक्का सम्झौता गरिएको उपमहानगरपालिकाले जनाएको छ । बस धनगढी–हसुलिया–फुलबारी–अत्तरिया रुटमा सञ्चालन गरिनेछ । यी रुटमा असोज १ गतेदेखि बस सञ्चालन हुनेछन् ।

नगर बसमा यात्रा गर्दा ७ किलोमिटर वा त्योभन्दा कम दुरीमा न्यूनतम २० रुपैयाँ भाडा तिर्नुपर्नेछ भने ७ किलोमिटर भन्दा लामो दुरीमा यात्रा गर्नेले प्रति किलोमिटर दुई रुपैयाँ ८४ पैसाका दरले थप भाडा तिर्नुपर्ने उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij