२०८३ साउन ९ शनिबार

तस्करीको सुन लक्की ज्वेलर्समा, लक्किले तस्करीको ३३१ किलो सुन किनेको सीआईबीको निष्कर्ष

ई आर्थिक    शुक्रबार, असार २१ २०८१
7.2K
Shares
तस्करीको सुन लक्की ज्वेलर्समा, लक्किले तस्करीको ३३१ किलो सुन किनेको सीआईबीको निष्कर्ष

ई–आर्थिक, काठमाडौं । काठमाडौंको न्यूरोडस्थित लक्की ज्वेलर्सले तस्करीको ठूलो परिणामको सुन किनेको प्रमाण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फेला पारेको छ । सीआईबीले ३३१ किलो सुन किनेको अनुसन्धानका क्रममा फेला पारेको हो ।

सुन तस्करी अनुसन्धानका क्रममा सीआईबीले काठमाडौं महानरपालिका–२२ न्यूरोड क्षेत्रमा रहेको सुन रिफाइनरी कोठाबाट केही कागजात बरामद गरेको थियो । उक्त सुन रिफाइनरी भारतीय नागरिक सिद्धनाथ अशोक गायकवाडको रहेको खुलेको छ ।

जहाँ लक्की ज्वेलर्सको नामको बिल प्याडसमेत भेटिएको थियो । उक्त बिल प्याडअनुसार २९ पुस २०७९ मा १२१.५५ किलो, ११ असोज २०७९ मा १७७.४१९ किलो, १२ असोज २०७९ मा १८.३६० किलो र ६ पुस २०७९ मा १३.७२ किलो गरी ३३१.०४९ किलो तस्करीको सुन लक्की ज्वलेर्सले किनेको देखिएको सीआईबीका एक अधिकारीले जानकारी दिए ।

सिद्धनाथको रिफाइनरी हाउसबाट उक्त कागजात बरामद भएदेखि लक्कीका मेनेजर ३८ वर्षका मुकुन्दकुमार ठाकुर फरार छन् ।

सीआईबीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्दामा लक्कीका मेनेजर मुकुन्दलाई पनि प्रतिवादी बनाइएको छ ।

सुन तस्करीमा लक्की ज्वेलर्स पनि संलग्न भएको कागजात भेटिएपछि ‘सीआईबी मिलाइदिन्छु’ भनेर लक्की ज्वेलर्सबाट १० लाख रुपैयाँ लिएको आरोपमा प्रहरीले सरोज गुप्ता नाम गरेकी एक महिलालाई बयानमा बोलाएको थियो । उनीसँगको बयानपछि सीआईबीले तारेखमा छाडेको छ ।

यसअघि मोबाइल वालेट कम्पनीहरुले समेत मुद्दा मिलाइदिन पूर्वडीएसपी केपी शर्मा भन्ने कृष्णप्रसाद शर्मा र झविन्द्र खत्रीले ८ लाख ५० हजार लिएको पाएपछि सीआईबीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध आपराधिक विश्वास गरी ठगी गरेको कसुरमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij