ई–आर्थिक, काठमाडौं । सन् २०२४ को जुन महिनामा साढे ७६ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटक बोर्डको तथ्यांकअनुसार जुन महिनामा ७६ हजार ७ सय ३६ जना पर्यटक नेपाल आएका छन जुन सन् २०१९ को सोही महिनाको भन्दा २ दशमलब ४७ प्रतिशतले बढी हो ।
सन् २०१९ को जुनमा ७४ हजार ८ सय ७३ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२०, २०२१ मा भने कोरोना महामारीका कारण पर्यटक आगमनमा गिरावट आएको थियाे । सन् २०२० को जुनमा १ सय २ जना, २०२१ को जुनमा ११ सय ८७ जना, २०२२ को जुनमा ४६ हजार ९५७ जना र सन् २०२३ को जुनमा ७२ हजार २ सय ५० जना पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
तथ्यांक अनुसार कुल पर्यटकको झन्डै आधाजसो भारतबाट आउने गरेका छन् भन् चीनबाट झन्डै १० प्रतिशतको हाराहारीमा आउने गरेका छन् । यसैगरी, बंगलादेशबाट ५ प्रतिशतको हाराहारी पर्यटक नेपाल आउने गरेको छ । महादेश अनुसार सार्क देशबाट ५६ दशमलब ५ प्रतिशत, सार्क बाहेकको एसियाली देशबाट १५ प्रतिशत, युरोपबाट ७ दशमलब ४ प्रतिशत, ओसनियाली राष्ट्रबाट २ दशमलब ४ प्रतिशत, अमेरिकी महादेशबाट ११ दशमलब ७ प्रतिशत, मध्य पूर्वी राष्ट्रहरुबाट शून्य दशमलब ६ प्रतिशत र अन्यबाट ६ दशमलब ५ प्रतिशत पर्यटक नेपाल आउने गरेको छ ।
कुन देशबाट कति आए
नेपालमा धेरै पर्यटक आउने देशमा छिमेकी देश भारत नै पहिलो नम्बरमा परेको छ । भारतबाट जुन महिनामा मात्रै ३७ हजार ८ सय ३७ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
दोस्रो धेरै पर्यटक आउने देशमा भने अमेरिकी गरेको छ । अमेरिकाबाट जुन महिनामा ८ हजार २ सय ८१ पर्यटक नेपाल भ्रमणमा आएका छन् । तेस्रो धेरै पर्यटक आउने देशमा भने चीन परेको छ । मार्च महिनामा होली चाडको अवसर पारेर धेरै पर्यटक आए पनि त्यसपछि भने चिनियाँ पर्यटकको आगमनमा पुनः गिरावट आएको हो । चौथो धेरैपर्यटक भने बंगलादेशबाट आएका छन् । बंगलादेशबाट जुन महिनामा ३ हजार ८ सय ५७ जना पर्यटक नेपाल आएका छन् ।
त्यसैगरी युकेबाट १ हजार ९ सय ६९ जना, अष्ट्रेलियाबाट १५ सय ८९ जना, भुटानबाट १ हजार ६६ जना, मलेसियाबाट १ हजार १४ जना, जापानबाट ९ सय ५३ जना र दक्षिण कोरियाबाट ८ सय ७५ जना पर्यटक नेपाल भ्रमणमा आएका छन ।
वर्षातको मौसम भएका कारण युरोपेली पर्यटकहरुको आगमन भने पछिल्लो समय पातलिंदै गएको देखिएको छ ।