ई–आर्थिक, काठमाडौं । संयुक्त राष्ट्रसङ्घले इरानले इजरेलमाथि गरेको हमलाका बारेमा छलफल गर्न इजरेलको अनुरोधमा आइतवार सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्ने जनाएको छ । सामाजिक सञ्जालमा राखिएको एक सन्देशमा राष्ट्रसङ्घका लागि इजरेलका राजदूत गिलाड एर्डानले इरानले गरेको हमलालाई ‘विश्वव्यापी शान्ति र सुरक्षामाथि नै गम्भीर सङ्कट’ भनेका छन् । उनले तेहरानविरुद्ध ठोस कदम चाल्न सुरक्षा परिषद्ले सम्पूर्ण उपायहरू अवलम्बन गर्ने अपेक्षा गरेको पनि बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले इरानको कदमको निन्दा गरेका छन् र उनी त्यस क्षेत्रभर नै तनाव चर्केर जाने वास्तविक खतराप्रति गहीरो रूपमा चिन्तित रहेको पनि उनले बताएका छन् । इरानले इजरेलमा हवाई हमला गरेपछि इजिप्टले आफ्नो हवाई सुरक्षा प्रणालीलाई उच्चतम सतर्क अवस्थामा राखेको बताएको छ । उसले त्यस क्षेत्र र त्यहाँका जनतालाई थप अस्थिरताको अवस्थाबाट जोगाउन अत्यन्त संयम अपनाउन पनि सबै पक्षलाई आग्रह गरेको छ ।
चीनको विदेश मन्त्रालयले पछिल्लो तनावपूर्ण अवस्था गाजामा जारी युद्धको पछिल्लो परिणाम भन्दै शान्तिका लागि आह्वान गरेको छ । उसले त्यस क्षेत्रमा शान्ति र स्थायित्वका लागि रचनात्मक भूमिका खेल्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । आर्जेन्टिनाका राष्ट्रपति हाभिएर मिलेइको कार्यालयले इजरेलप्रति “ऐक्यबद्धता र अटल प्रतिबद्धता” व्यक्त गर्दै एक वक्तव्य जारी गरेको छ।
ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकले इरानी हमलालाई गैरजिम्मेवार भन्दै निन्दा गरेका छन्। उनले इरानलाई आफ्नै छिमेकमा अशान्तिको बीज रोपेको आरोप लगाएका छन् । फ्रान्सले पनि इरानको निन्दा गर्दै उसको कदम अस्थिरताको नयाँ चरणमा पुगेको भनेर चेतावनी पनि दिएको छ।