ई–आर्थिक, काठमाडौं । छत्रपाटी निःशुुल्क चिकित्सालयले आफ्नो विषयमा प्रकाशित समाचार भ्रामक भएको दाबी गरेको छ ।
हिजो एक अनलाइन पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर सो चिकित्सालयले समाचारलाई भ्रामक र तथ्यहिन भनेको हो ।
‘यो अस्पताल विशुद्ध सामुदायिक अस्पताल हो । यो अस्पताल समाजसेवाको भावनाले स्थानीयसेवीहरुले स्थापना गरिएको हो । यो सरकारी या नाफामूलक निजि अस्पताल जस्तो होइन । यसमा हुने सबै क्रियाकलाप पारदर्शी छन् र हुन्छन् । हाल सार्वजनिक खरिद अनुगमन कार्यालयमा बन्द रहेको टेण्डर प्रक्रिया आजै (आइतबार) अपरान्ह ३ बजे खुल्नेछ ।’ सो चिकित्सालयले भनेको छ– ‘खुल्ने प्रक्रियामै रहेको आर्थिक प्रस्तावमा कति मूल्यमा आपूर्ति गर्ने रकम हालिएको छ भन्ने कुरा बाहिर सार्वजनिक नहुँदै, बन्द अवस्थामा रहेको आर्थिक प्रस्ताव नखुल्दै तीन करोड रुपैयाँ अनियमितता भएको भनेर समाचार लेखिनु हास्यास्पद र दुराशयपूर्ण रहेको देखिन्छ ।’
स्पेशिफिकेशन लक्ड गरिएको कुरा असत्य र झूठा भएको पनि सो चिकित्सालयले दाबी गरेको छ । अस्पतालले तयार पारेको स्पेशिफिकेशन अनुसार हाल नेपालमा सिटीस्क्यान मेशिन बिक्री गर्दै आएका हिटाची, सिमेन्स, नियोसफ्ट, क्याननलगायतका कम्पनीहरुले टेण्डर हाल्न सक्ने अवस्था रहेको र प्रिबिडिङ छलफलमा समेत सहभागी भएकोले तथ्यबाट समेत पुष्टि हुने हुँदा उक्त समाचार त्रुटीपूर्ण रहेको बताएको छ ।