ई–आर्थिक, काठमाडौं । आगामी बैशाख दोस्रो साता राजधानीको भृकुटीमण्डपमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा “समृद्धिका लागि हरीत उर्जा” भन्ने नाराका साथ आगामी बैशाख १२ देखि १४ गतेसम्म तदनुसार अप्रिल २४ देखि २६ तारिखसम्म हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना हुन लागेको हो ।
बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले उर्जामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको जनाएको हो । सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहितको ऊर्जा विकास मार्गचित्र तयार गरेको सन्दर्भमा उर्जा विकासमा टेवा पुर्याउने उद्धेश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।
“भारतमा १० हजार मेगावाट, बंगलादेशमा ५ हजार मेगावाट र १३ हजार ५०० मेगावाट विद्युत आन्तरिक रुपमा खपत गर्ने योजना सरकारले अघि सारेको छ,” इप्पान अध्यक्ष कार्कीले भने, “नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत भारतमा निर्यात गर्ने सम्झौता पनि भर्खरै भएको छ । यस्तो अवस्थामा जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको हो ।”
हाल २९ सय १ मेगावाट जडित क्षमता रहेकोमा निजी क्षेत्रबाट मात्र सोलारसहित १७१ आयोजना सम्पन्न भई २२ सय १४ मेगावाट उर्जा उत्पादन भैसकेको छ । यसैगरी ३३ सय ९७ मेगावाट बराबरका १३१ आयोजना निर्माणाधीन अवस्थामा छन् भने ३६ सय १५ मेगावाट बराबरका १३८ आयोजना विद्युत खरिद सम्झौता (पीपीए) भएर वित्तीय व्यवस्थापनको चरणमा छन् । यसैगरी करिब १९ हजार ६२३ मेगावाट बराबरका २५८ आयोजना निजी क्षेत्रबाट अनुमतिपत्र लिएर निर्माणको विभिन्न चरणमा भए पनि नतिजाउन्मुख अवस्था नभएको इप्पनका उपाध्यक्ष आशीष गर्गले बताए ।
“तथ्यांक एकातिर छ, वास्तविकता अर्कैतिर भएको अवस्थामा सरकारको उर्जा उत्पादनको लक्ष्य पुरा गर्न ठुलो लगानी आवश्यक छ, यसलाई सघाउन पनि इप्पानले एक्स्पो आयोजना गर्न लागेको हो”, उनले भने ।
नेपालका साथै विभिन्न मुलुकका उर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बिचमा पारस्परिक सहकार्यमा समेत एक्स्पोले सहजता ल्याउने इप्पानका महासचिव बलराम खतिवाडाको विश्वास छ । जलविद्युतको बजार बिस्तारका साथै बाह्य लगानीमा सहकार्यको अवसर पनि एक्स्पोले उजागर गर्नेमा आफु विश्वस्त रहेको उनको भनाई छ । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा सहभागी हुने विदेशी लगानीकर्तालाई समेत एक्स्पोमा सहभागी गराएर लगानीको वातावरण निर्माण गर्ने इप्पानको योजना रहेको खतिवडाले बताए ।