२०८३ साउन १२ मंगलबार

‘विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र हस्तकलाको प्रवर्द्धनका लागि उद्योग व्यवसायमैत्री नीति नियम आवश्यक’

ई आर्थिक    बिहिबार, मंसिर २८ २०८०
5.7K
Shares
‘विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र हस्तकलाको प्रवर्द्धनका लागि उद्योग व्यवसायमैत्री नीति नियम आवश्यक’

ई–आर्थिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएकाले सरकारबाट यसको प्रवर्द्धनका लागि हस्तकला उद्योग व्यवसायमैत्री आवश्यक नीति नियम, ऐन, कानुन बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

हस्तकला दिवसको अवसरमा आयोजित २० औं हस्तकला व्यापार मेला तथा १८ औं हस्तकला प्रतियोगिताको बिहीबार उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले हस्तकला उद्योगबाट उत्पादित वस्तुहरूको बजार विस्तार देशभित्र गर्न सरकारका सम्पूर्ण निकायबाट स्वदेशमा उत्पादित हस्तकला वस्तुको उपयोगको वातावरण सृजना गर्न आवश्यक रहेको औंल्याउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘हस्तकला उद्योग नेपालको उद्योग व्यापार मात्र नभई नेपालको प्राचीन सभ्यता, मौलिक संस्कृति र सम्पदाको संरक्षण एवम् संवर्द्धन गर्दै विश्वमा परिचित गराउने महत्त्वपूर्ण क्षेत्र हो । यसका साथै हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचान एवम् गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकिन्छ । यस उद्योगको विकास र विस्तारबाट एकातिर मुलुकको विशिष्ट पहिचान स्थापित गर्न सकिन्छ भने अर्कोतिर हाम्रो आर्थिक, सामाजिकलगायत समग्र राष्ट्रिय विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याउन सकिन्छ भन्ने मलाई लागेको छ ।’’

राष्ट्रपति पौडेलले नेपाली हस्तकलाका धेरैजसो सामग्री हाम्रा विभिन्न जातजातिको पुर्ख्यौली पेशा र सीपमा आधारित मौलिक उत्पादन भएकाले सजिलै यसको नक्कल हुन नसक्ने भएकाले यस प्रकारका उत्पादनको प्रतिलिपि अधिकार पनि समयमा नै सुरक्षित गर्नेतर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘प्रतिलिपि अधिकार सुरक्षित गर्दै नेपाली परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समयसापेक्ष विकास गर्न आवश्यक छ ।’’

प्रत्यक्ष–अप्रत्यक्ष गरी झण्डै ११ लाख व्यक्तिलाई रोजगारी दिएको यो क्षेत्र अर्थव्यवस्थाको पहिचानमा आधारित उद्योग व्यवस्था भएको हुँदा यसको उत्पादनले मुलुकको पहिचान विश्वरभर फैलाउन योगदान पुर्‍याउने पनि राष्ट्रपति पौडेलको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘‘हाल करिब ८५ देशमा हस्तकला उद्योग व्यवसायबाट उत्पादित वस्तुहरूको निकासी भएको छ भने कतिपय देशमा निकासी गर्न बाँकी छ । थोरै पुँजी, ससानो प्रविधि तथा स्थानीय कच्चा पर्दाथ, श्रम र सीपमा आधारित हस्तकला उद्योग व्यवसाय कृषिपछि देशमा गाउँ, बस्ती, दुर्गम क्षेत्रमा विस्तार गर्न सकिने ठूलो सम्भावना रहेको क्षेत्र हो । सहजै स्थानीयस्तरमा गर्न सक्ने व्यवसाय पनि यो हो । यति महत्त्वपूर्ण व्यवसाय भएर पनि युवा पुस्तामा हस्तकला क्षेत्रको परम्परागत सीप र प्रविधि हस्तान्तरण हुन सकिरहेको छैन ।’’

उहाँले हस्तकला क्षेत्रको परम्परागत सीप र प्रविधि हस्तान्तरणका लागि आवश्यक पर्ने कार्यक्रम, तालिमहरू सञ्चालनार्थ सङ्घ, प्रदेश, स्थानीय सरकारसहित निजी क्षेत्रको साझेदारीमा हस्तकलाग्राम स्थापना गर्न आवश्यक रहेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘‘मौलिक कला र संस्कृति झल्कने स्थानीय हस्तकलाका सामग्रीले हाम्रो पर्यटन व्यवसायमा पनि योगदान पुर्‍याएको छ । हस्तकला सामग्रीले स्वदेशी मात्र होइन विदेशी पर्यटकलाई पनि आकर्षित गरिरहेको हुनाले पर्यटनसँग सम्बन्धित विभिन्न निकायबीच उचित समन्वय र सहयोगको वातावरण तयार गर्न जरुरी छ ।’’

स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु उत्पादन गर्ने भएकाले यो व्यवसायमा संलग्न उद्यमीलाई सरकारले प्रोत्साहन गर्नुपर्दछ ।

राष्ट्रपति पौडेलले विश्वबजार प्रतिस्पर्धी बन्दै गइरहेको बेलामा नेपाली हस्तकलाको समान निर्यात गर्दा क्रियाशील उत्पादन, बजारको माग, वस्तुको डिजाइन र विकास गुणस्तरीय वस्तु, मूल्य निर्धारण, राम्रो प्याकेजिङ्, व्यापारमेला र प्रदर्शनीमा सहभागी, प्रचार, प्रवर्द्धन, अनुसन्धान, विकास र प्रतिलिपि अधिकारमा विशेष ध्यान पुर्‍याउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो मेलाले उद्यमी, कलाकार, कालीगढहरूबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरूको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन र नयाँ नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्न मद्दत पुर्‍याउने मैले विश्वास लिएको छु ।’’ सो क्रममा राष्ट्रपति पौडेलले प्रदर्शनीमा राखिएका विभिन्न स्टलको अवलोकन गर्नुभएको थियो । राष्ट्रपति पौडेलले उत्कृष्ट हस्तकला निर्यातकर्तालाई सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij